Movement of Maghi in Tharu community:

काठमाडौं । माघेसङ्क्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ ।

थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।

थारु बस्तीमा खानपिन र नाचगानको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका विष्णु चौधरीले बताउनुभयो । माघि नजिकिएसँगै थारु समुदाय काममा जुटेका छन् । माघीपर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि तयारी भइरहेको छ ।

गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको उहाँले बताउनुभयो । ढिक्री पकाउने, अनदीको विशेष झोल (जाँड), अनदीको रोटी, भातलगायत विशेष मिठामिठा परिकारको जोहो गर्ने चलन छ ।

थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । माछासँगै गँगटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको थारु अगुवा पूर्ण चौधरी बताउनुहुन्छ ।

“थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ”, चौधरीले भन्नुभयो ।

माघलाई विभिन्न ठाउँका थारु समुदायले आआफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारु समुदायका अधिकांश छोरीहरू कमलरी थिए । उनीहरू माघीका दिनमा मात्रै छुट्टी पाउँथे त्यसैले यसलाई उनीहरूले मुक्ति दिवसका रुपमा मनाउने गरेको मुक्त कमलरी विकास मञ्चका केन्दीय अध्यक्ष हिरा चौधरी बताउनुहुन्छ ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको घोराही –१७ कर्जाहीका राजकुमारी चौधरी बताउनुहुन्छ । “ढिक्री, रोटी, माछा र घोङ्गीको परिकार बनाउँदै छौँ, माघीको सम्पूर्ण तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “खानाको परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, घर बाहिर भएका मानिस घरमा आउँछन्, गाउँमा छुट्टै चहलपहल र भेटघाट हुने भएकाले रमाइलो हुन्छ, कर्जाही थारु समुदायको बाक्लो बस्ती भएको ठाउँ हो, अन्य खेतीपातीका काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबाबा, दाजुभाई दिदीबहिनी जुट्नुभएको छ ।”

थारु समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरुपमा लिइँदै आएको महेन्द्र मावि धर्नाका शिक्षक घोराही–६ का भीमबहादुर चौधरी बताउनुहुन्छ । उहाँले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले माघमा नाचगान, खानपिनलाई विशेष महत्वका साथ हेर्ने गरेको बताउनुभयो । “पुसको २५ देखि माघको ५ गतेसम्म गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ”, उहाँले भन्नुभयो ।

माघ महोत्सवको तयारी तीव्र

थारु कल्याणकारिणीसभा दाङको आयोजनामा यही पुस २२ र २३ गते जिल्ला समन्वय समिति घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तीव्र बनाइएको थारु कल्याणकारीसभा दाङका सभापति भुवन चौधरीले जानकारी दिनुभयो । ‘आर्थिक जागरण व, सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितको समृद्धिम हमार योगदान’ भन्ने नारासहित आयोजनामा हुन गइरहेको महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ ।

महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाको भेलाले थारु कल्याणकारिणीसभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा एक सय २१ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको चौधरीले जानकारी दिनुभयो ।

यसैगरी ११ स्वयंसेवक परिचालन उपसमिति र महोत्सव प्रचारप्रसार समिति गठन गरिएको छ । अन्य महोत्सवभन्दा पृथक र नयाँपन दिनुपर्ने भएकाले यो फरक भएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति रहने बताउनुभयो । महोत्सवस्थल जिल्ला समन्वय समितिको प्राङ्गण सरसफाइ गरेर कक्ष राख्नका लागि तयारी गरिएको छ ।

दुईदिने महोत्सवमा मघौटा, छोक्रा, हुडुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौँ थारु भाषाका पुस्तक प्रदर्शनीका लागि राखिने उहाँले बताउनुभयो । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गँगटालगायत परिकारसमेत बिक्री वितरणका लागि राखिनेछ । रासस

 

सम्बन्धित खबरहरु