काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका विषयमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने उल्लेख गर्नुभयो ।

खगराज अधिकारी

“अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौँ, कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “जसरी उल्लासका साथ विमानस्थलको उद्घाटन ग¥र्यौँ, त्यसरी नै नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।”

सामाजिक उत्थानका रुपान्तरणकारी परियोजना सञ्चालन गरेर गण्डकी प्रदेशलाई समुन्नत बनाउनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री अधिकारीले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासलाई आफूले प्राथमिकता राख्ने बताउनुभयो ।

उहाँले पोखरालाई विश्वकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न महानगरसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो ।

बेलका नगरपालिका बन्यो तरकारी जोन
पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रुपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ ।

जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।

जिल्लामा सबैभन्दा बढी हरियो तरकारी उत्पादनमा यही क्षेत्रमा भइरहेका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो । उहाँले यसपटक मात्रै रू पचास लाखभन्दा बढीको तरकारी उत्पादन भइसकेको बताउनुभयो । “किसानहरुले रू ५० लाख बराबरको तरकारी उत्पादन गरिसकेका छन् भने तरकारी उत्पादन अझै भइरहेको छ”, उहाँले भन्नुभयो ।

बेलका तरकारी किसान समूहका सदस्य कुमार कटुवालले आम्बासी, पुरनदह, बानडाँडा, सिसौली, रातापानी, भागलपुर, तपेश्वरी लगायतका स्थानमा पाँच सयभन्दा बढी किसान व्यवसायिक तरकारीखेतीमा संलग्न रहेको बताउनुभयो ।

गत वर्षमात्र बेलका तरकारी किसान समूहले सदरमुकाम गाइघाटसहित चौदण्डीको बेल्टार, सप्तरीको फत्तेपुर बजार र सुनसरी क्षेत्रमा रू ३० लाखभन्दा बढी मूल्य बराबरको तरकारी बिक्री गरेको बानडाँडाका किसान पुष्पप्रसाद भट्टराईले बताउनुभयो ।

नगरपालिका प्रमुख अशोक कार्कीले यस क्षेत्रलाई तरकारी उत्पादन पकेट क्षेत्रका रुपमा अघि बढाएको बताउनुभयो । किसानलाई तरकारी खेतीप्रति प्रोत्साहन गरेकै कारण नगरपालिका जिल्लाकै अब्बल तरकारी उत्पादक क्षेत्रको रुपमा देखा परेको प्रमुख कार्कीको भनाइ छ । नगरपालिकाले तरकारीखेतीका लागि तालिमसहित आर्थिक सहयोग, निःशुल्क बिउबीजन वितरण गर्दै आएको उहाँले जानकारी दिनुयो ।

सुनसरी, झापा मोरङ तथा सिरहा र सप्तरीमा उत्पादन हुने तरकारीभन्दा गुणस्तरीय र सस्तो मूल्यमा तरकारी उत्पादन हुन थालेपछि यहाँबाट ती क्षेत्रमा तरकारी बिक्री बढेका तपेश्वरी गाउँपालिकाका पूर्व अध्यक्ष डिल्ली बिमलीको भनाइ छ ।

हिउँदे र बर्खे लहरे तरकारी गरी हाल यस क्षेत्रमा दश प्रकारका हरियो तरकारी उत्पादन भइरहेको छ । नगरभित्र पाँच सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । प्रत्येक किसानहरुले वार्षिक रू ५० हजारदेखि साढे दुई लाखसम्म तरकारी बिक्री गरी आम्दानी गर्दै आएको किसान दुर्गेस कार्कीको भनाइ छ । विसं २०६८ बाट सीमित किसानले सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले नगरका अधिकांश वडाका किसानले गर्दै आएका छन् । रासस

 

सम्बन्धित खबरहरु