काठमाडौं । प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ ।

परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ ।

मेलाका अवसरमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

रैथाने बालीको प्रदर्शनी हुँदै

विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उहाँले बताउनुभयो । उक्त अवसरमा महानगरअन्तर्गतका ३३ वटै वडाका किसानबाट आ–आफ्ना स्थानमा उत्पादन हुने रैथाने बाली अनदी, घैया, कोदो आदि प्रदर्शनी गरिनेछ । जैविक विविधतासम्बन्धी गीत पनि प्रदर्शन गर्ने तयारी रहेको प्रमुख कडरियाले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का अवसरमा माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस विभिन्न कार्यक्रमका साथ मनाउने सरकारको तयारी छ ।

तनहुँमा चार सय ३७ अपराधका उजुरी
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् ।

घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो । त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका ४७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तनहुँमा चार सय १७ र आव २०७८/७८ मा तीन सय ९७ वटा अपराधका घटनामा उजुरी दर्ता भएको थियो ।

महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना रहेका छन् । त्यसबाहेक जबर्जस्ती करणी, जबर्जस्ती करणी प्रयास, बहुविवाह, बालविवाह, मानव बेचबिखन र बोक्सीको आरोपका घटना रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाविरुद्धका अपराध भएका छन् । परिवारका सदस्य, आफन्त, शिक्षक, नातेदार तथा छिमेकी नै महिला तथा बालबालिकाविरुद्धको अपराधका घटनामा संलग्न भएको प्रहरीको तथ्याङ्क छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल अपराध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ । आपराधिक घटना तथा क्रियाकलापलाई न्यूनीकरण गरी समाजलाई शान्ति र सुव्यवस्थामा लैजान प्रहरी तथा स्थानीय प्रशासनलाई सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।रासस

 

 

सम्बन्धित खबरहरु