काठमाडौं । पछिल्लो समय मानिसहरुले पुरानो बिल र विवाहका निमन्त्रणाहरु सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

त्यस्ता धेरै तस्विरहरु भाइरल पनि भएका छन् । यसबीच अहिले यस्तै एउटा पुरानो राहदानी (पासपोर्ट) British Indian Passport को तस्विर सामाजिक सञ्जाल ट्विटरमा भाइरल भइरहेको छ ।

यो राहदानी करिब ९२ वर्ष पुरानो भएको विश्वास गरिन्छ । राहदानीको यो तस्विरलाई अंशुमान सिंह नामका एक ट्विटर प्रयोगकर्ताले साझा गरेका छन् ।

जानकारी अनुसार तस्विर उनका हजुरबुवाको हो । भारत अंग्रेजको उपनिवेशमा हुँदा उनीहरूको राहदानी कस्तो हुन्थ्यो ? भनेर तपाईं देख्न सक्नुहुन्छ ।

भाइरल तस्विर ब्रिटिश भारतीय राहदानी हो । पाकिस्तानको लाहोरमा सो राहदानी प्रदान गरिएको थियो । अंशुमनका अनुसार त्यतिबेला उनका हजुरबुवाको उमेर ३१ वर्ष थियो । अंशुमनले ट्विट गर्दै लेखेका छन्, ‘मेरो हजुरबुवाको ब्रिटिश भारतीय राहदानी । यो वर्ष १९३१ मा जारी भएको थियो । त्यसबेला उहाँको उमेर ३१ वर्ष थियो ।’

उनको ट्विट अनुसार राहदानी पञ्जाब रायको हो । रोचक कुरा के भने त्यसको वैधता भारतसहित केन्यामा पनि थियो । जानकारी अनुसार त्यो राहदानी सन् १९३६ जुलाई ३ सम्मलाई मान्य थियो । राहदानी धारकको तस्विर पनि राहदानीमा टाँसिएको छ । उर्दूमा हस्ताक्षर पनि गरिएको छ ।

राहदानीको एक पृष्ठमा लेखिएको छ, ‘भारतको भाइसरोय र गभर्नर जनरललाई राहदानी धारकलाई कुनै अवरोध बिना राहदानी प्रदान गर्न अनुमति दिन अनुरोध गरिएको छ । यसबाहेक, निजलाई सबै प्रकारको सहयोग र सुरक्षा प्रदान गरियोस् ।’ यो सबै राहदानीमा पञ्जाब सरकारको छाप लगाइएको छ ।

अंशुमान सिंहको यो पोस्टलाई लाखौंले हेरिसकेका छन् । योसँगै यो पोस्टलाई झण्डै तीन हजारले मन पराए । अंशुमनको यो पोस्टमा धेरै प्रकारका प्रतिकृया आएका छन् । रिम्पी बर्गामो नामका एक प्रयोगकर्ताले आफ्नो हजुरबुवाको राहदानीको तस्विर पनि साझा गरिन् ।

रिम्पीले ट्विट गर्दै लेखिन्, ‘मेरो हजुरबुवा सरदार करतार सिंहको राहदानी । यो मेरो मामाले राख्नु भएको थियो । गत वर्ष उहाँले मलाई यो दिनुभयो । यसमा इटाली, नेदरल्याण्ड, जर्मनी र बम्बेका भिसा टिकटहरू पनि हेर्न सकिन्छ ।’ ट्विटर प्रयोगकर्ता इमरान सईदले भनेका छन्, ‘वाह, यो राम्रो खजाना (सम्पति) हो । तपाईं कुनै पनि समय लाहोर अधिवास (बसाइँ) दाबी गर्न सक्नुहुन्छ ।’

यसमा अंशुमान सिंहले लाहोर गएर विस्तृत रुपमा हेर्न मन लागेको जवाफ दिए । उनका अनुसार लाहोर उनका हजुरबुवालाई धेरै प्यारो लाग्थ्यो । बिजुली नहुँदा घरमा बत्ती बाल्दा हजुरबुवाले ‘लाहोर भयो’ भन्ने गरेको कुरा पनि उनले स्मरण गरेका छन् ।

साबा नामका एक ट्विटर प्रयोगकर्ताले अंशुमानलाई राहदानी संग्रालयलाई बेच्न सल्लाह दिइन् । जवाफमा अंशुमानले आफ्ना लागि हजुरबुवा नायक भएको बताउँदै राहदानी कहिल्लै बेच्न नसक्ने जवाफ दिएका छन् ।

 

सम्बन्धित खबरहरु