काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछाने थुनामुक्त भएका हुन् ।

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार सन्दीपले आज (शुक्रबार) दिउँसो २० लाख धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।

थुनामुक्त गर्न केन्द्रीय कारागारबाट सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो । हिजो उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले सन्दीपलाई धरौटीमा थुनामुक्त गर्नु भन्दै आदेश जारी गरेको थियो ।

थुनामुक्त भएका सन्दीपले अब काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्छ । साथै पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने पाउने छैनन् ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीपविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सम्बन्धित खबरहरु