काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा दुई चिकित्सकले ज्यान गुमाएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।

उहाँहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुनुहुन्थ्यो । उहाँ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आउनुभएको थियो ।

उहाँहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन जानुभएको थियो । ‘ट्रमा सेन्टरले मात्रै चिकित्सक गुमाएन । नेपाल सरकारको कन्सल्टेन्ट सर्जन गुमाउँदा राज्यलाई समेत ठूलो घाटा भएको छ’, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो ।

‘हामीले देशकै एक कुशल र अर्थोपेडिक तथा स्पाइन सर्जन गुमाएका छौं उहाँले भन्नुभयो ।’

डा. मरासिनीका अनुसार, ‘उहाँ एक अनुशासित र इमानदार चिकित्सक हुनुहुन्थ्यो । उहाँ जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक हुनुहुन्थ्यो ।’

सहकर्मी डा. खुल्दिप मंगल जोशीका अनुसार डा. श्रेष्ठ मिलनसार हुनुहुन्थ्यो । उहाँ एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल चिकित्सक हो ।

‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले थाहा पाइनँ । सबैलाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । पढाइमा अब्बल हुँदा पनि उहाँमा कहिले घमण्ड आएन’, डा. जोशीले सुनाउनुभयो ।

शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी हुनुभयो । ‘हिजो बेलुका मात्रै हामी सँगै थियौं । म एक दुई दिन बिदामा पोखरा घरमा जान्छु भन्नुभएको थियो’ डा. जोशीले भन्नुभयो, ‘तर, बिहान यस्तो घटना भएको सुनियो । राज्यले एक अब्बल चिकित्सक गुमाएसँगै मैले प्रिय सहकर्मी गुमाए ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएका डाक्टर श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गर्नुभएको थियो । उहाँले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गर्नुभयो ।

उहाँ साथीहरुसँग पोखरामै फर्किएर स्पाइन सर्जरी सेवा दिने सोच रहेको बताउने गरेको डा. जोशीले सुनाउनुभयो । स्पाइन सर्जरी सम्बन्धी फेलोसिपमा उहाँ सिंगापुर जाने तयारीमा हुनुहुन्थ्यो ।

डा.सुशीलकी पत्नी डा. सोना भने बच्चा जन्मिएपछि काम छाडेर बस्नुभएको थियो । उहाँले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गर्नुभएको थियो। उहाँ विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहनुभएको थियो सुशीलका साथी डा. जोशीले जानकारी दिनुभयो ।

डा. सोनाले त्यसका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी–एमएसको एकीकृत प्रवेश परीक्षा पास गर्नुभएको थियो । तर, दुर्घटनामा निधन भएसँगै विशेषज्ञता हासिल गर्ने डा. सोनाको सपना पनि अधुरै रह्यो ।

सम्बन्धित खबरहरु