काठमाडौं । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि उक्त ठाउँमा पुगिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्छ ।

सन्तानेश्वर

अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोेले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् । नरैनापुरको वडा नं ५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले चर्चामा छ ।

अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । मन्दिर दर्शन गर्न पुग्नुभएका कोहलपुरका बलराम भट्टराईले जीवनमै अहिलेसम्मको रमाईलो र स्मरणीय भ्रमण भएको बताउनुभयो । मनोरम दृश्य र साथीसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उहाँको भनाइ छ । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनको काम गरिने बताउनुभयो । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अघि सारेको उहाँको भनाइ छ । ढकालले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने प्रतिबद्धता जनाउनु भयो ।

सांसद ढकालले पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा सहज रुपमा पुग्न सडक निर्माणमा सहयोग र कोहलामा होमस्टे निर्माणका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । हुलाकी सडक अन्तर्गत नेपालगञ्ज–बघौडा सडकको कोहलाबाट करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ ।

महादेवको दर्शन गर्न बाँकेबाट मात्र नभइ भारत र छिमेकी जिल्लाबाट भक्तजन त्यहाँ पुग्ने गरेको स्थानीयवासी विनय दीक्षितले बताउनुभयो । सन्तान नभएकाले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेका व्यक्ति त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताउनुभयो ।

मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा शिवरात्री, तिजमा विशेष भीडभाड हुन्छ । मन्दिरमा पुगेर चोखो मनले मागेपछि सन्तान मिल्छ भन्ने विश्वास छ । गाउँपालिकाले मन्दिरमा सोलार बत्ती, पानीको व्यवस्था र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ । रासस

सम्बन्धित खबरहरु