काठमाडौं । वर्तमान सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाहीलाई मन्त्री नबनाउने देखेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । राप्रपा, केन्द्रीय सदस्य तथा जन सम्पर्क विभाग प्रमुख भीमबहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह हुनुहुन्छ । मन्त्री बन्नेहरूको सूचीमा जुम्लाबाट पहिलोपटक सांसद बनेका शाही पर्नुभएन् ।

विभाग प्रमुख भीमबहादुर शाहीले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राप्रपा सरकारमा जाँदै गर्दा, राज्यमन्त्रीसम्मको पनि कर्णालीको हैसियत छैन रहेछ । सरकारमा जाने मन्त्री चर्चा भैरहँदा यो भान भयो । कर्णाली प्रदेशमा राप्रपाको न्यून उपस्थिति हुँदाहुँदै पनि जुम्लाले उच्च मुल्यांकन, आशा र भरोसाका साथ देशलाई नै सवक सिकाउने गरि हाम्रो पार्टी र युवा नेतृत्वलाई अमुल्य मत दिएको छ ।’

‘हाम्रो माग, कर्णालीमा एक मन्त्रीको भाग’ को नारासहित थप भनिएको छ, ‘जनमतलाई उच्च सम्मान तथा जुम्लाको समग्र विकासका निम्ति भए पनि आज मिति २०७९÷१०÷०३ गतेका दिन राप्रपाको तर्फबाट ज्ञानेन्द्र शाहीलाई जिम्मेवार मन्त्रालयको मन्त्री बनाउनुको अर्को विकल्प छैन । अन्यथा पार्टी भित्र पनि कर्णाली अपमानित भएको महसुस हुनेछ ।’

सम्बन्धित खबरहरु