काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ ।

दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव फेला परेको हो ।

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले पुष्टि गर्नुभएको छ ।

मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो । ७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको बताउनुभयो ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ । खोलाको पानी घटाएर खोजी कार्य जारी छ ।

 

सम्बन्धित खबरहरु