काठमाडौं । बलात्कारको मुद्दामा अभिनेता पल शाहले सफाइ पाएका छन् ।

उनलाई तनहुँ जिल्ला अदालतले बलात्कारको मुद्दामा सफाइ दिएको हो । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा आज सुनुवाई भएको थियो ।

बलात्कार गरेको मुद्दामा दावी नपुगेकोले निर्दोष रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको हो ।

अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा परेको थियो । नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिए पनि बालयौन दुब्र्यावहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय सुनायो ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाहले गत फागुन १५ गते प्रहरीसमक्ष आत्समर्पण गरेका थिए ।

तनहुँ अदालतले निर्दोष सावित गरेर फैसला गरेपनि नवलपुरको फैसलाको कारणले गर्दा नायक शाह कारागारमा नै बस्नु पर्नेछ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

सम्बन्धित खबरहरु