काठमाडौं । वर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध गर्दा अहिलेको कर्णाली प्रदेश आधारस्तम्भ थियो ।

तर यसपटक उहाँको सरकारमा सो प्रदेशबाट एकजना पनि मन्त्री छैनन् । यो कुरालाई लिएर कर्णाली प्रदेशमा आक्रोश देखिएको छ । जाजरकोट ख बाट प्रदेशसभा सदस्य राजीवविक्रम शाहले सामाजिक सञ्जाल फेसबुकमा वर्तमान मन्त्रीमण्डलमा कर्णालीलाई अपेक्षा गरिएको भन्दै आक्रोश पोख्नु भएको छ ।

उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘हाम्रो (कर्णाली) प्रदेशबाट एकजना पनि मन्त्री नबन्नुको कारण के होला ? जनयुद्ध गर्दा कर्णाली आधार बनाएका प्रचण्डले के बिर्सेकै हुन त ?’

पत्रकार सुशील खड्काले पनि यसमा असन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँले भन्नु भएको छ, ‘प्रधानमन्त्री प्रचण्डको टिममा कर्णाली अटाएन् । संघीयता लागूदेखि नै विमुख कर्णाली शीर्ष नेताको नजरमा सधैँ उपेक्षामा छ ।

आखिर बोल्दिने कसले ?’ प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्रीसहित १५ मन्त्री र तीन राज्यमन्त्री छन् । तर यसमा कर्णाली प्रदेशबाट एकजना पनि अटाउन सकेका छैनन् ।

यो कुरालाई लिएर सामाजिक सञ्जालमा सरकारमा सहभागी दलहरूप्रति जनआक्रोश देखिएको छ । राप्रपाले पनि जुम्लाबाट सांसद ज्ञानेन्द्र शाहीलाई अवसर नदिएको भन्दै पार्टीभित्र आलोचना हुँदैछ ।

सम्बन्धित खबरहरु