काठमाडौं । ‘तालिबान’ शब्द सुन्दा हाम्रो मनमा हिंसा र फतवा आउँछ । टोयोटा गाडीमा ठूला ठूला मेसिन गन बोकेर बन्दुक र राइफल बोकेका आतंककारीहरू दिमागमा आउँछन् । लामो दाह्री र पगडी लगाएका रूढीवादी र कट्टरपन्थी नेताहरू बुझ्छौँ ।

यसै कारणले अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अब त्यो देशमा बन्दुक र गोलाबारुद मात्र बन्छ भन्ने आम मान्यता थियो । धेरैले सोचेको कुरा सडकमा नरसंहार हुनेछ, जनतालाई सार्वजनिक रूपमा कोर्रा लगाइनेछ भन्ने नै थियो । यो भइसकेको छ, हुँदैछ । तर, तालिबानको शासनमा केही फरक पनि भइरहेको छ, जुन सायद कसैले सोचेको पनि थिएन ।

पछिल्लो समय सामाजिक सञ्जालमा सुपर कारको भिडियो निकै भाइरल भइरहेको छ । यो कार फिल्म ‘टार्जनः द वन्डर कार’ को अत्याधुनिक कार जस्तै देखिन्छ । अफगानिस्तानमा तालिबान सरकारमा आएपछि यो बनेको हो । तालिबान सरकारले हालै अफगानिस्तानमा बनेको स्वदेशी यो ‘सुपरकार’ सार्वजनिक गरेको हो । यो कारको नाम मडा–९ हो ।

कसले बनायो र कति खर्च भयो ?
टोलो न्यूजका अनुसार मडा–९ सुपरकार तालिबान सरकारले बगराम एयरबेसमा सार्वजनिक गर्यो । यो अफगानिस्तानको इनटप कार डिजाइन स्टुडियो र अफगानिस्तान प्राविधिक व्यावसायिक संस्थान (एटीभीआई) द्वारा संयुक्त रूपमा विकसित गरिएको हो ।

यसलाई ३० अफगान इन्जिनियरहरूले बनाएका हुन् । जसको नेतृत्व काबुलमा बस्ने इन्जिनियर रजा मोहम्मदीले गरे । हालसम्म यस कारको विशेषता र प्रविधिका बारेमा कुनै जानकारी दिइएको छैन । तर विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमको समाचारमा विश्वास गर्ने हो भने यो कारमा टोयोटाको इन्जिन प्रयोग भएको छ ।

बीबीसीका अनुसार एटीभीआई प्रमुख मौलवी गुलाम हैदर शाहमतले यस कारको बारेमा भने, ‘यो कारमा टोयोटा कोरोला कारको इन्जिन प्रयोग गरिएको छ । यो प्रोटोटाइप कार हो, पूर्ण रूपमा तयार भइसकेको छैन । भित्री काम गर्न बाँकी छ । अहिलेसम्म ४० देखि ५० हजार डलर खर्च भइसकेको छ ।’

‘मडा–९ ले तस्विर बदल्नेछ’
एन्टपका सीईओ मोहम्मद रिजा अहमदीका अनुसार मडा–९ ले विश्व मञ्चमा अफगानिस्तानको छवि परिवर्तन गर्न मद्दत गर्नेछ । उनका अनुसार यो कार छिट्टै अन्तर्राष्ट्रिय बजारमा ल्याइने छ ।

संयुक्त राष्ट्रका लागि अफगानिस्तानका राजदूत सुहेल शाहीनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा कारको भिडियो साझा गर्दै लेखेका छन्, ‘अफगानिस्तानका सक्षम युवाहरूले अफगानिस्तानको विकासमा आफ्नो महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

सम्बन्धित खबरहरु