काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नवनियुक्त पर्यटन राज्यमन्त्री ठकुरी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँलाई प्रधानमन्त्री दाहालले शपथ गराउनुभएको हो । मङ्गलबार राज्यमन्त्री नियुक्त हुनुभएका ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सक्नुभएको थिएन । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो ।

विदेशबाट फर्केर बाख्रापालन
घोराही–६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बन्नुभएको हो । पहिले दुबईमा पाँच वर्ष र त्यसपछि मलेसियामा पाँच वर्ष बस्नुभएका बुढामगरले कोरोनाका कारण मलेसियाको कम्पनीमा काम कम रोकिएपछि नेपाल आएको बताउनुभयो ।

रोल्पा नगरपालिका–७ घापाबाट दाङको घोराही उपमहानगरपालिका–६ मा १६ वर्षअघि बसाइँ सरेर आएपछि श्रीमती रामकुमारी थापाले घर खर्च चलाउन चारवटा बाख्रा पाल्दै आएकीमा दुई वर्षअघि ती बाख्रासहित अन्य बाख्रा थपेर व्यावसायिकरूपमा अगाडि बढेको बुढामगरले जानकारी दिनुुभयो । अहिले उहाँका खोरमा ४६ वटा बाख्रामध्ये २४ माउ, १३ पाठापाठी, सात खसी र दुईवटा बोयर बोका छन् । बाख्रा पाल्नका लागि रु १० लाखको लागतमा तारजालीले बारेर व्यवस्थित खोर बनाइएको छ । दिउँसो बाहिर घाममा र बिहान बेलुका भित्र दुई ठाउँमा बाख्रा राख्ने खोर छन् । दाना खानलाई डुँड पनि व्यवस्थित बनाइएको छ । कतैबाट सहयोग भएमा एक सय वटासम्म बाख्रा पाल्ने उहाँको रहर छ ।

“युट्युबमा बाख्रा पालेको देखेको थिए त्यहाँ फाइदा भएको मात्रै देखाउने रैछ”, बुढामगरले भन्नुभयो, “त्यही देखेर बाख्रा पालनमा जोडिएको हुँ काम गर्न अलि गाह्रो हुने रैछ । बाख्रालाई दाना, घाँस र पराल सबै किनेर खुवाउने गरेको छु, बजारको दाना खुवाउँदिन ।” मकै र धान खरिद गरेर राखेको र घरमै सानो मिनी मिल रहेकाले त्यसैमा पिसेर दाना बनाउने गरेको र यस काममा आफूलाई श्रीमतीले सघाउँदै आएकीले सजिलो भएको उहाँले उल्लेख गर्नुभयो ।

फार्ममा स्थानीय स्तरमा पाइने जातका सहित जमुना पारि, खरी, बोएर सबैजातका बाख्रा छन् । सबै आफ्नै लगानीमा काम गर्दा बेलाबखत पैसाको समस्या पर्ने रैछ । सरकारी अनुदान पाउन त साह्रै गाह्रो हुने रैछ । किसानका लागि बोलिदिने कोही नहुँदो रैछजस्तो लागेको उहाँको गुनासो थियो ।

एउटा खसी तयार हुन एक वर्ष लाग्छ । तयार भएको खसी २५ हजार देखि ४० हजारसम्ममा बिक्री हुने गरेको छ । जिउँदो खसी किलोको रु छ सयका दरले बिक्री हुने गरेको बुढामगरले बताउनुभयो । चैत÷वैशाखमा बिक्रीका लागि आठवटा खसी तयार हुँदैछन् । हतारमा प्रतिफल नपाइने रैछ, अझै प्रतिफल पाउने समय नआएको जस्तो लागेकाले धैर्य गरेर प्रतिफलको प्रतीक्षामा रहेको उहाँको भनाइ थियो ।

“तेह्र कट्ठा जमिनमा मकै चरी, जै बरसिम घाँस छरेको छु दाना, पानी र घाँसको आपूर्ति सजिलै भएको छ”, बुढामगरले भन्नुभयो, ‘‘गत बर्ष रु दुई लाख ४० हजार बराबरको बाख्रा बिक्री गरिए पनि अझैसम्म नाफामा गइसकेको छैन लगानी उठाउने क्रममै रहेको छ ।”

यसैगरी घोराही–२ अघर्रेका गोविन्दहरि भण्डारीले पनि आफ्नै घर छेउमा राप्ती बोयर बाख्रा फार्म खोली व्यावसायिकरुपले बाख्रापालन गर्दै आउनुभएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातकसम्म अध्ययन गर्नुभएका उहाँले पाँच वर्ष जापानमा बसे पनि चार वर्ष अघिदेखि आफ्नै घर छेउमा व्यावसायिकरूपले बाख्रा पाल्न सुरु गरेको जानकारी दिनुभयोे ।

घरमा बाबाआमाले पाल्नुभएका पाँचवटा बाख्राबाट सुरु गरिएको उहाँकोे फार्ममा अहिले ५० वटा बाख्रा छन् । रु २५ लाख लगानी गरेर खोर बनाइएको र १० कट्ठा जमिन वर्षको दुई हजार दिने सर्तमा भाडामा लिएर घाँस खेती पनि गरिएको भण्डारीले जानकारी दिनुभयो ।

व्यवसाय सानो ठूलो केही नभनी आफ्नै भूमिमा घर परिवारसँग बसेर काम गर्नुपर्नेमा जोड दिनुभएका उहाँले स्थानीय, प्रदेश र केन्द्र सरकारले किसानमुखी कार्यक्रम ल्याएर सहयोग गरेमा आफूजस्ता वास्तविक किसानलाई राहत हुने अपेक्षा गर्नुभयो । रासस

सम्बन्धित खबरहरु