काठमाडौं ।  बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो ।

दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो ।

नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रुपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंकाखलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएको थियो । मंकाखलले महोत्सवमा देखाएको नागानागीनी नाचमा छ वर्षका आरभराज श्रेष्ठ र छ वर्षकै सालिन श्रेष्ठले नृत्य देखाउनुभएको थियो ।

संस्कृति र परम्परा संरक्षण गरिँदै

अन्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा बढेपछि म्याग्दीका जातजाति आफ्नो मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा जागरुक बनेका छन् । कलाकारको अभाव र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा तालिम दिएर नयाँ कलाकार तयार गरी हनुमान नाच देखाइएको मंकाखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।

विसं २०५७ भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक सङ्कलनका लागि हनुमान नाच देखाइएको थियो । त्यसयता कलाकारको अभाव र नृत्य पुस्तान्तरण नहुँदा हराएर जाने अवस्थामा पुगेको नाचलाई मंकाखलले पुनर्जागरण गराएको हो । मृढंगना र झ्यालीको तालमा हनुमानको रुप धारण गरेका कलाकारले नृत्य देखाउने यस नाचमा सहभागी भएका थिए ।

अधिकतम ११ जोडीसम्मले यस नाचमा नृत्य गर्न सक्ने हनुमान नाचलाई संरक्षण गर्नका लागि नेपाल भाषा मंकाखल म्याग्दीले तालिम नै सञ्चालन गरेको छ । यस पटकको म्याग्दी महोत्सवमा क्षत्री समाजले आफ्नो परम्परागत सरुन नाच र गुरुङ समुदायले घाटु नाच देखाएका थिए । महोत्सवले आम समुदायलाई आफ्नो संस्कृति, वेशभूषा र परम्पराको संरक्षणमा जागरुक बनाएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल बताउनुहुन्छ ।

“यस पटक महोत्सवलाई व्यापार व्यवसायको प्रवद्र्धनसँगै कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ, दैनिकरुपमा हरेक समुदायले आफ्नो मौलिक प्रस्तुति राखिरहनुभएको छ”, उहाँले भन्नुभयो । महोत्सव मगाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याईपु¥याउने माध्यम बनेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाच महोत्सवको आकर्षण बनेको छ ।

हरेक दिनजसो नयाँ कलाकारले थाली नाचमा नृत्य प्रस्तुत गर्ने गरेको महोत्सवका सांस्कृतिक संयोजकसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइएको कारण पनि यस पटक महोत्सव जिल्लाभित्रका कला, संस्कृति देखाउने थलो बनेको बताउनुभयो ।

धौलागिरि गाउँपालिका–७ ताकमको स्थानीय मौलिक संस्कृतिको रुपमा रहेको राधाकृष्ण नाच बेनीमा प्रदर्शन भएको थियो भने भने थकाली, मगर, छन्त्याल, परियारलगायतका जातजातिले आफ्नो संस्कृति, वेशभूषा र परम्परालाई महोत्सवमा प्रदर्शन गरेका छन् ।

महोत्सवमा नेपाली विवाहको महत्वपूर्ण पाटो मानिने रत्यौली प्रर्दशन थप अर्को आकर्षण बन्यो । ताकम र राक्सेका आमा समूहसँगै ब्राह्मण समाज र क्षेत्री समाजले मौलिकता देखिने गरी प्रस्तुत गरेको रत्यौलीले दर्शकमा विवाहकै झल्को दिएको थियो । महिला आफैँले बाजा बजाउने, जन्ती जाने, दुलहा, दुलहीसमेत बनेर विवाहको झल्को दिँदै रत्यौली गीत र नाचमा दर्शकसमेत छमछमी नाचेका थिए ।

देशभर आयोजना हुने महोत्सवमा आधुनिकताको प्रभाव बढिरहेको सन्दर्भमा म्याग्दी महोत्सवमा लोपोन्मुख र हराएर जाने अवस्थामा पुगेका संस्कृतिको पुनर्जागरण गराउनेमा जोड दिइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार, महोत्सवमा मौलिक संस्कृति जगेर्ना हुने गरी प्रतियोगिता समावेश भएका छन् । मगर, छन्त्याललगायतका जातजातिको पुख्र्यौली नाचसमेत महोत्सवमा आयोजना गरिएको छ । चार समूह सहभागी भएको पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पुख्र्यौली समूह विजयी बने ।

महोत्सवले लुकेर रहेका प्रतिभाको पहिचान र खोजी तथा मौलिक संस्कृतिको संरक्षणमा जोड दिएको प्रतियोगिताका संयोजकसमेत रहनुभएका प्रथम उपाध्यक्ष शाक्य बताउनुहुन्छ । एकल लोकनृत्य प्रतियोगिता सम्पन्न भएको महोत्सवमा लोकदोहोरी गीत र गण्डकी लोकतारा प्रतियोगितासमेत समावेश गरिएको छ । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन गर्ने थलो बनेको महोत्सव कलाकारको प्रस्तुतिले सङ्गीतमय बनेको छ भने नौमती बाजादेखि कलाकारको साङ्गेतिक प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ । रासस

 

 

सम्बन्धित खबरहरु