काठमाडौं । युक्रेनको राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘युद्धकालमा दुर्घटना’ कम नहुने बताएका छन् । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

युक्रेनले अहिलेसम्म यो दुर्घटनामा रुसको हात रहेको दाबी नगरेपनि डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ) मा जेलेन्स्कीले यो घटना युद्धको परिणाम भएको बताएका हुन् ।

उक्त दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीका केही सहकर्मीको मृत्यु भएको थियो । आफ्नो भिडियो सन्देशमा जेलेन्स्कीले आफ्ना पश्चिमी सहयोगीहरूलाई जतिसक्दो चाँडो थप हतियारहरू पठाउन अपील गरेका छन् ।

नेटोका प्रमुखले सोही मञ्चमा आफ्नो सम्बोधनमा युक्रेनले छिट्टै नयाँ, थप शक्तिशाली र आधुनिक हतियार पाउने बताए । जेन्स स्टोल्टनबर्गले पनि किभमा कुन हतियार पठाउने भन्ने बारे छलफल गर्न नेटो सदस्यहरूले शुक्रबार भेट्ने बताएका छन् ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक बालक पनि थिए । ४२ वर्षीय गृहमन्त्री डेनिस मोनास्टिरस्की रुसी आक्रमणपछि मृत्यु हुने युक्रेनका उच्च पदस्थ अधिकारी हुन् ।

सम्बन्धित खबरहरु