काठमाडौं । नेपाल वायु सेवा निगममा भएको एक घटनाले इज्जत माथी नै धक्का लागेको छ ।

पाइलटले ल्यान्डिङको समयमा विमान परिचारिकालाई ककपिटमा राखेर ल्यान्डिङ गरेको कुरालाई लिएर निगममा बबाल भएको हो ।

कुनै एउटा फ्लाइटमा क्याप्टेन अरविन्द राज पहारीले ढोका हेर्ने जिम्मेवारीमा रहनुभएकी नवनियुक्त विमान परिचारिकालाई ककपिटमा राखेर ल्यान्ड गर्नुभएको पाइयो । उक्त कुराले क्याबिन क्रु मा तहल्का मच्चियो ।

ढोका हेर्ने जिम्मेबारी पाउनुभएकी विमान परिचालिकालाई ककपिटमा लगेर राखेपछि हवाइ सुरक्षाको दृष्टिकोणले गलत रहेको भन्दै कर्मचारीहरू रुष्ट भएका छन् । यो गलत हो, यस्तो व्यवहारलाई निरुत्साहित गर्नुपर्छ, आफ्नो हक र हितको लागि बोल्नै पर्छ, आवाज उठाउनै पर्छ भनेर विमान परिचारिकाहरू एकजुट भएको देखिन्छ ।

नयाँ नियुक्त भएकी विमान परिचारिकाले उक्त घटनापछि काम छोडेको देखिन्छ ।

तर, सो विषयले नेपाल वायुसेवा निगममा हलचल मच्चियो । क्याप्टेनले गरेको गलत कार्य विपरीत बोल्ने परिचारिकाहरूलाई मानसिक तनाव दिन सुरु गरियो । पाइलटको उक्त कार्यलाई निरुत्साहित गर्नुपर्छ भनेर आवाज उठाउने एक महिला कर्मचारीमाथि पहारीले मानसिक दबाब दिन थालेको खुल्न आएको छ ।

२०७९ साल साउन ११ गते मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौँ उडान भरेको नेपाल एयरलाइन्सको उडानमा कप्तान अरविन्द राज पहारीले एक जना परिचारिका माथि दुर्व्यवहार गरेको उजुरीपनि परेको छ । ककपिटमा राखेको विषयमा आवाज उठाएको भन्दै उहाँले कर्मचारीहरूलाई दुर्व्यवहार गरेको देखिन्छ ।

विमान चालक पहारीले जुनियर विमान परिचारिकालाई बोलाएर सबै जिम्मा आफूले लिनु भनी अराई सिकाइ गरेर पठाएपछि सोही विमानमा रहेका सिनियर विमान परिचारिकाहरूले आफूलाई जिम्मेबारीबाट हटाइएको भन्दै मानसिक तनाव झेलेका भन्दै भित्री कुरा खुलाइरहेका छन् ।

उडानको समयमा क्याबिन क्रु कर्मचारीहरूले मानसिक तनाव र उडानमा पर्न गएको गम्भीर असरको बारेमा साउन २७ गते उहाँहरूले इमेल र हस्तलिखित उजुरी सम्बन्धित शाखाका अधिकारीहरूलाई बुझाइएको रेकर्ड देखिन्छ ।

इमेल उजुरीमा एक सिनियर विमान परिचारिकाले पाइलटको अन प्रोफेसनल कामबाट आफूले मानसिक तनाव भोगिरहेको हुनाले यस विषयलाई महत्वका साथ हेरिदिन क्याबिन क्रु डिभिजनका डाइरेक्टर क्याप्टेन विजय लामालाई आग्रह गरिएको देखिन्छ ।

यता, क्याप्टेन लामाले आफूले इमेल पाएको नौ दिनपछि सो इमेल नेपाल वायु सेवा निगमका उच्च पदस्थ अधिकारीलाई पठाउँदै यस विषयमा चाँडोभन्दा चाँडो सम्बोधन गर्न भनेको देखिन्छ ।

सम्बन्धित खबरहरु