काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा चलिरहेको छ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ । आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

सम्बन्धित खबरहरु