काठमाडौं । १७ वर्षकी एक छात्राले लगाएको माथि घाँटीसम्म नै ढाकिने पूरा बाहुला भएको र तल घुँडासम्मको पहिरनलाई भित्री वस्त्रजस्तो भएको भन्दै स्कुलबाट निकालिएको छ ।
शिक्षकहरुलाई ‘असहज’ महसुस हुने भन्दै कक्षाबाट निकालेर घर पठाइएपछि यो विषयले आक्रोशको वातावरण बनाएको छ ।
छात्राका आक्रोशित पिताले फेसबुकमा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।
क्यानडाको ब्रिटिश कोलम्बियाको काम्लूप्सकी क्रिस्टोफर विल्सनका अनुसार उनकी छोरी १७ वर्षकी कारिस स्कुलबाट रुँदै घर आएकी थिइन् । उनले पढ्ने नोर्काम सिनियर सेकेण्डरी स्कूलकी एक शिक्षिकाले उनको कपडालाई भित्री वस्त्रजस्तोे भनेकी थिइन् ।
ती शिक्षिकाले उनले लगाएको पुरुष विद्यार्थी शिक्षक (सिक्दै सिकाउँदै गर्ने) लाई अप्ठ्यारो महसुस गराउन सक्ने भनेकी थिइन् ।
विल्सनका अनुसार ती शिक्षिकाले छात्रालाई कक्षाबाट तानेर प्रिन्सिपल कहाँ लगेकी थिइन् र प्रिन्सिपलले पनि कारिसको पहिरन अनुचित भएको कुरामा सहमत भएका थिए ।
रिपोर्टअनुसार प्रिन्सिपलले विल्सनलाई स्कुलको ड्रेस कोड पनि देखाएका थिए जसमा शिक्षण सिकाइबाट ध्यान अन्यत्र मोड्ने पहिरन लगाउन बन्देज लगाइएको छ । विल्सनले यो घटनालाई बिनाकारणको संज्ञा दिँदै यसका कारण आफ्नी छोरीलाई एक्लो पारिएको दावी गरेका छन् ।