काठमाडौं । भोलिपनि सार्वजनिक विदा भएको छ । आज शनिबार नियमित बिदा नै हो भोलि सोनाम ल्होछार २८५९ तावार ल्हो (बिरालो वर्ष) पर्व बिदा देशभर दिइएको छ ।

पर्वको अवसरमा समस्त बौद्धमार्गी तथा नेपाली आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुस्वास्थ्य, दिर्घायू एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रो शुरु भएको २८५९औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिनुभयो ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।

भोलि दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खबरहरु