शेयर बजारका लगानीकर्ताहरुले महिनौदेखि प्रतीक्षा गरिरहेको अभौतिक (डिम्याट) शेयर धितो कर्जामा बैंकहरुले धमाधम ऋण प्रबाह गर्न थालेका छन् । मुलुकका ठूला बाणिज्य बैंकहरु प्राईम र सिद्दार्थका साथै आईसीएफसी बित्तीय संस्थाले पहिलोपल्ट डिम्याट शेयर धितोमा ऋण प्रबाह गरी शेयर बजारका लगानीकर्ताहरुमा नयाँ संदेश दिदैछन् । बाणिज्य बैंकहरुको शेयर धमाधम डिम्याट भईरहेकाले त्यसलाई धितो राखेर सस्तो ब्याज दरमा ऋण पाउने भएपछि लगानीकर्ताहरुले बजारमा लगानी बढाउने संकेत देखिएको छ ।


प्राईम बैंकले आफुबाट डिम्याट शेयर धितो कर्जा प्रबाह भईसकेको जनाएको छ । बैंकको मुख्य कार्यालय न्युरोडका ऋण विभागका मधु थापाले डिम्याट शेयर धितो राखेर अहिलेसम्म बैंकबाट तीन जनाले ऋण लगिसकेको जानकारी दिनुभएको    छ । प्राईम बैंकले डिम्याट शाखा खोलेर आबश्यक धितो रोक्का गरी ऋण प्रबाह गरेको थापाले बताउनु भयो ।

सिद्दार्थ बैंकका कर्जा बिभागका अधिकारीहरुले आफ्नो बैंकले कर्जा दिने तयारी सुरु गरेर प्रक्रिया अगाडि बढाएको बताएका छन् । बैंकका ऋण अधिकृतहरु भन्छन–धितो रोक्का गर्ने र ऋण दिने प्रक्रिया स्पष्ट भएपछि ऋण दिने काम सुरु हुन्छ । सीडीएससीबाट आउने कार्यबिधि कुरेर बसेका छौ ।

शेयर बजारमा डिम्याट शेयर कर्जाबाट प्राप्त हुने रकम लगानीले राम्रा कम्पनीहरुको शेयर मूल्य बढ्न गई खरिदकर्ताहरुको चाप पर्नसक्ने आँकलन गरिएको छ । पछिल्ला दिनहरुमा शेयर बजारमा ३० करोड भन्दा बढीको दैनिक कारोबार हुन थाल्नुलाई डिम्याट शेयर कर्जाकै प्रभाव मानिएको छ । जति ठूलो कित्ता किने पनि डिम्याट शेयर सहजै साना कित्तामा बांडेर बेच्न मिल्ने र तेस्रो दिनमा नै खरिदकर्ताको नाममा नामसारी भएर डिम्याट खातामा जम्मा हुने भएकाले बजारमा डिम्याट शेयर नै खरिद गर्न चाहनेहरु पनि बढ्न थालेका छन् ।

 सीडीएस एण्ड क्लियरिङ लिमिटेडले केही दिन अघि बैंकर्स संघमा पठाएको डिम्याट शेयर रोक्का, ऋण प्रदान गर्ने र फुकुवा गर्ने प्रक्रियाको आधारमा बैंकहरुले ऋण प्रदान गर्न थालेका हुन् । केही महिना अघि नेपाल राष्ट्र बैंकले डिम्याट शेयर धितो कर्जा दिनसक्ने भनी बैंकहरुको नाममा सर्कुलर जारी गरेपनि प्रक्रिया स्पष्ट नभएको भन्दै बैंकहरुले आलटाल गर्दै आएका थिए । सीडीएससीले कार्यविधि बनाएर बैंकर्स संघमा पठाए पनि डिम्याट शेयर दिन बैंकहरु आफै तातेका हुन् । प्राप्त स्रोत अनुसार केही शेयर दलालहरुले बैंकहरुसँग सम्झौता गरी लगानीकर्ताहरुलाई डिम्याट कर्जाको सहजीकरण गरिसकेका छन् ।

सम्बन्धित खबरहरु