काठमाडौं । मुद्रास्फीति र आर्थिक संकटसँग लडिरहेको पाकिस्तानले विद्युत् सङ्कटको सामना गरेको छ । पाकिस्तानमा सोमबार ठूलो मात्रामा विद्युत कटौती भएको हो ।

इस्लामावाद, लाहोर र कराँची जस्ता शहरहरू धेरै घण्टादेखि बिजुलीविहीन छन् । प्रारम्भिक प्रतिवेदनअनुसार आज बिहान ७:३४ बजे राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी घटेपछि विद्युत् प्रणालीमा व्यापक अवरोध उत्पन्न भयो ।

इस्लामावाद इलेक्ट्रिक सप्लाई कम्पनी अर्थात इस्कोका अनुसार ११७ ग्रिड स्टेशनमा विद्युत आपूर्ति बन्द गरिएको छ । विद्युत आपूर्ति कम्पनीले ट्विट गर्दै भनेको छ, ‘क्षेत्रीय नियन्त्रण केन्द्रले अहिलेसम्म कुनै स्पष्ट कारण नदिएको भएपनि आइस्को व्यवस्थापन सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा छ ।’ प्रणाली सुधारका लागि द्रुत गतिमा काम भइरहेको छ ।

उर्जामन्त्री खुर्रम दस्तगीरले जियो न्यूजलाई सूचारु गर्न समय लाग्ने बताएका छन् । उनका अनुसार पाकिस्तानमा विद्युत बचत गर्न जाडोमा विद्युत उत्पादन युनिट बन्द राखिएको छ । बिहान साढे ७ बजे प्रणाली सूचारु गर्दा उत्तरी पाकिस्तानमा भोल्टेजमा धेरै उतारचढाव देखियो । त्यसपछि एकपछि अर्को पूरै व्यवस्था ठप्प भयो ।

समाचार अनुसार बिजुली सुचारु हुन ८ देखि १० घण्टा लाग्न सक्छ । त्यसबेलासम्म पाकिस्तानका करोडौँ जनता बिजुलीविना बाँच्न बाध्य हुनेछन् । जियो न्यूजका अनुसार क्वेटा इलेक्ट्रिक सप्लाई कम्पनीले बलुचिस्तानका २२ सहरमा बिहानैदेखि बिजुली नभएको बताएको छ ।

त्यहाँ गुड्डु र क्वेटा बीचको दुई आपूर्ति लाइनमा समस्या छ । यस वर्ष पाकिस्तानले नयाँ ऊर्जा योजना ल्याएको छ । गत वर्ष अक्टोबरमा पनि पाकिस्तानमा ठूलो विद्युत कटौती भएको थियो । त्यसपछि कराँची, लाहोर जस्ता सहरमा करिब १२ घण्टासम्म विद्युत कटौती भएको थियो ।

सम्बन्धित खबरहरु