महोत्तरी । बर्दिबास नगरपालिका-३ पाटु मोडमा सिन्धुलीको लङ्गुरखोलाबाट बर्दिवासतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा औरही गाउँपालिका–५ चकर टोल बस्ने ३५ वर्षीया अमेरिका देवीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रमामा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य २८ जनामध्ये १२ जनाको जनसेवा अस्पताल बर्दिवासमा, ७ जनाको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा र ९ जनाको साई मल्टी स्पेसिलिट हस्पिटल एण्ड ट्रमा सेन्टर बर्दिवासमा उपचार भइरहेकोमा ४ जनालाई थप उपचारको लागि चन्द्रकला अस्पताल जनकपुर रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी महोत्तरी औरही नगरपालिका-२ स्थित बर्दिबास जलेश्वर सडक-खण्डमा ना.३७ प ७२३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गोगाई ठाकुरको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल मुरली चोक जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।