काठमाडौं । सबैको मनमा बसेका चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको पौडेलाके निधन भएको बताउनुभयो ।
दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो । विगत दुई महिनादेखि बिरामी भएर उपचाररत पौडेलको रक्तअल्पताको कारण निधन भएको हो । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ ।
रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही समयदेखि घरमै आराम गरिरहेका थिए । उनी निकट गायिका सिर्जु अधिकारीसँग केही दिनअघिको कुराकानीमा पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको बताएका थिए । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका हुन् ।