काठमाडौं । सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै आएकी चितवनकी ४४ वर्षीया भवानी घिमिरे छन्।

कार्यालयको टोलीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो।
यस्तै उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।

एसपी कोइरालाका अनुसार नक्कली कागजात बनाउन मनिषाले पैसा लिने गर्थिन् भने भवानीले नक्कली कागजात बनाउने काम गर्थिन्। प्रहरी स्रोतका अनुसार मनिषा परियार पूर्व नगर प्रहरी हुन्। उनले पनि पहिले नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिएको स्रोत बताउँछ।

महानगर बलमा नगर प्रहरी संख्या कम भएपछि भदौ ८ गते टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वान गर्दा युनिक सेक्युरिटीले एक वर्षका लागि करारमा १६२ जना नगर प्रहरी खटाउने सम्झौता गरेको थियो।

ती नगर प्रहरीलाई मासिक २० हजार ५३२ रुपैयाँ दिने गरी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा एक वर्षका लागि सम्झौता भएको थियो।

निजी सेक्युरिटी कम्पनीहरू मार्फत नगर प्रहरीमा भर्ना हुँदा पूर्वसेना, पूर्वसशस्त्र प्रहरी, पूर्व–प्रहरी, प्रहरीका तालिम लिएको हुनुपर्ने मापदण्ड थियो।

महानगरले तोकेको न्यूनतम मापदण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, भारतीय सेनालगायतमा कम्तीमा पनि पाँच वर्षको कार्य अनुभव हुनुपर्ने थियो।

सोही अनुभव देखाउन उनीहरूले कीर्ते गर्ने गरेको पाइएको प्रहरी स्रोत बताउँछ। यसरी पूर्व सेना, पूर्व प्रहरी लगायतका अनुभव देखाउन नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिइरहेको भन्ने सूचना प्रहरीलाई आएको थियो।

करिब ४०–५० जनाले यसरी महानगरमा भर्ना भएको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो।

‘महानगर आफैंले पनि अनुसन्धान गरिरहेको भन्ने सूचना थियो। कसरी बनाउने रहेछन् भनेर हामीले अनुसन्धान गर्दै जाँदा बनाइदिने व्यक्तिको पहिचान गर्‍यौं,’ उहाँले भन्नुभयो ।

उनीहरूले नक्कली कागजात कसरी बनाउछन् भन्ने बुझ्न प्रहरीले पनि दुई जनाको अवकाश पाइसकेको भनेर कागजात बनाउन लगाएको थियो। उनीहरूले उक्त कीर्ते गरी कागजात बनाएर पठाएपछि प्रहरीले मनिषालाई कोटेश्वरबाट पक्राउ गरेको हो। यस्तै भवनीलाई उनकै स्टेशनरीबाट पक्राउ गरेको हो।

मनिषा आफैंले पनि नक्कली कागजात पेश गरेर नगर प्रहरीमा जागिर खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ।

‘अहिले पनि महानगर प्रहरीमा मनिषाले नै बनाइदिएको नक्कली कागजातको भरमा केहीले जागिर खाइरहेको भन्ने छ’, स्रोतले भन्यो।

 

सम्बन्धित खबरहरु