काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।
बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाइ बाकस हस्तान्तरण
शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेशअन्तर्गत छ जिल्लाका एक सय विद्यालयमा परीक्षणका रुपमा सिकाइ बाकस सञ्चालनमा ल्याएको छ । पुस्तक अभावमा विद्यार्थीहरु पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले सिकाइ बाकस सञ्चालनमा ल्याइएको हो ।
समयमै पाठ्यपुस्तक पु¥याउन नसकिएको खण्डमा त्यसको विकल्पमा अनलाइन तथा अफलाइनबाट सिकाइ बाकसमार्फत् विद्यार्थीलाई पठनपाठन गराइनेछ ।
कम्प्युटर र प्रोजेक्टरको सहायतामा तयार पारिएको यस्तो बाकसबाट अनलाइन नभएका अवस्थामा पनि विद्यार्थीलाई अध्यापन गराउन सकिने कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिनुभयो ।
रोटरी क्लबको प्राविधिक तथा आर्थिक सहयोगमा विकास गरिएका सिकाइ बाकस आज कास्की, तनहुँलगायतका १४ सामुदायिक विद्यालयलाई प्रदान गरिएको छ । प्रतिविद्यालय एउटा बाकसका दरले वितरण गरिएको हो । एउटा सिकाइ बाकसको लागत रू एक लाख २५ हजार पर्ने र पाँच वर्ष टिकाउ हुनेछ । कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यसामग्री उक्त सिकाइ बाकसमा समावेश छन् ।
पौडेलले शिक्षाको विकासका लागि सरकारले विद्यालयलाई कम्प्युटर दिएको धेरै वर्ष भएको र अधिकांश विद्यालयले प्रयोग नगरेको बताउनुभयो ।
“शिक्षकलाई चारदिने तालिमसहित सिकाइ बाकस दिएका छौँ यसको भरपुर प्रयोग गर्नुहोस्”, उहाँले भन्नुभयो । सिकाइ बाकस गण्डकी प्रदेशका छ जिल्ला कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, पर्वत जिल्लाका एक सय विद्यालयलाई एक÷एक थान वितरण गरिनेछ ।
शिक्षामा रुपान्तरण आवश्यक भएको बताउँदै उहाँले शिक्षाको अवसरबाट कुनै बालबालिका वञ्चित हुन नहुने बताउनुभयो । शिक्षक र पाठ्यपुस्तकको अभावमा विद्यार्थी पढ्न नपाउने अवस्थासमेत यो बाकसले हटाउँछ उहाँले सुनाउनुभयो । नेपालका १५ जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न नसकेको र घोषणा गरिएको जिल्लाको अनुगमन पनि नभएको पौडेलको भनाइ छ ।
विशेष अथितिका रुपमा पाठ्यपुस्तक विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल पाठ्यपुस्तक अभावमा यो डिभाइसबाट पठनपाठन गर्न सकिने हुँदा विद्यार्थीलाई फाइदा पुग्ने बताउनुहुन्छ । कोभिडको समयमा यस्ता यन्त्र फलदायी हुने उहाँले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले पुस्तकअभाव भएको अवस्था र विद्यार्थीलाई नयाँ प्रविधिबाट पठनपाठन गराउन यस्तो मेसिन सहयोगी बन्ने बताउनुभयो ।
रोटरियन किरणलाल श्रेष्ठ गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले नयाँ प्रविधिसँग शिक्षक खेल्न सक्नुपर्नेमा जोड दिनुभयो । शिक्षकले विद्यार्थीलाई शिक्षाप्रति आकर्षण गर्न यस्ता बाकस फलदायी हुने उहाँको भनाइ छ । रोटरी क्लब अफ पोखराका अध्यक्ष डा राजेन्द्र गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।