काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नुभएको बताउनुभएको हो ।

आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।” उहाँले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफलगर्ने बताउनुभयो ।

“गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ”, उहाँले भन्नुभयो ।

लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको सङ्गठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उहाँले बताउनुभयो ।

आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानूनबमोजिम पुनः नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुुझाउनुभएको हो ।

सम्बन्धित खबरहरु