काठमाडौं । सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको स्पष्ट पार्नुभएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताउनुभयो ।

ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुग्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि ? भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताउनुभयो ।

‘पहिला रविजी गृहमन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भन्नुभयो ।

माओवादी नेताहरू राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई जिताएर गृहमन्त्रीसहित अरू मन्त्रालय दिएर कांग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ नि ? भन्ने अर्को प्रश्नमा ओलीले भन्नुभयो कांग्रेस त गृह राज्यमन्त्री दिए पनि अहिले सरकारमा आउँछ। राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गर्नुभयो । ‘हाम्रा राजनीतिक एजेन्डा र प्रतिवद्धता छन्। ती एजेन्डा र प्रतिवद्धता पूरा गर्न बाँकी भएकाले गठबन्धन कायम रहन्छ, कुनै समस्या हुन्न,’ ओलीले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु