काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोविता गौतमले आफूले बाहिरी चर्चाहरुमा पार्टी फुट्दैछ भनेर सुनेको भन्दै असन्तुष्टि पोख्नुभयो ।

रास्वपाको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा आफ्नो धारणा राख्दै उहाँले ‘रास्वपा फुट्दैछ भनेर हल्ला चलाइएको छ, तर पार्टी फुट्ने आधार छ कि छैन भनेर कसैले केलाएर हेरेको छ ?’

उहाँले प्रश्न सोध्दै व्याख्या गर्नुभयो । ‘राजनीतिक दलसम्बन्धी ऐनको धारा ३३ को दफा २ र ३ हेर्नुहोस् । दफा २ ले फुट्न सक्ने आधार दिएको छ । तर दफा ३ ले पार्टी दर्ता भएको ५ वर्ष पुगेपछि मात्रै फुट्न सम्भव हुन्छ ।’

उहाँले फेरि सोध्नुभयो, ‘हाम्रो पार्टी दर्ता भएको कति भयो ?’

प्रश्नमै जवाफ सन्निहित थियो । सात महिनाअघि गठित रास्वपा फुट्नुको राजनीतिक औचित्य र कानूनी आधार दुवै पुष्टि नहुने भन्दै उहाँले पार्टीभित्रका मतभेदहरुलाई रचनात्मक र वैधानिक बाटोबाट अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँको यो अभिव्यक्तिमा पार्टीभित्र अहिले नै मतभेद सुरु भयो भन्ने देखियो । उहाँले पार्टीभित्र प्रभावकारी सञ्चार र पारदर्शिताको वकालत गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग भने गौतमले अहिले आफ्नो पार्टी फुट्दै नफुट्ने भएकाले यसतर्फ चासो र चिन्ता व्यक्त गर्नुको कुनै अर्थ नहुने तर्क गर्नुभयो ।

‘बाहिर आएका हल्लाहरुबारे मैले संकेत गरेकी हुँ, तर पार्टी नै फुट्न लाग्यो भन्ने अर्थमा पटक्कै होइन,’ उहाँले भन्नुभयो, ‘अहिले विभिन्न कोणमा हाम्रो बारेमा बाहिर कुरा उठेका छन् । तर पार्टीले सही र आवश्यक राजनीतिक निर्णयहरु मात्रै गरेर अघि बढ्छ ।’

अर्की नेता निशा डाँगीले सरकारबाट निस्कन हतार नगर्न आग्रह गर्नुभयो । गृह मन्त्रालय आफ्नै भएकाले रास्वपाले नै पाउनुपर्ने उहाँको तर्क थियो ।

सम्बन्धित खबरहरु