काठमाडौं । शाहरुख खानको फिल्म पठानले १० दिनमा भारु ७२९ करोड कमाएको छ । यशराज फिल्म्सका अनुसार फिल्मको कमाईको अंक नवौं दिन ६९६ करोड पुगेको थियो, जुन १०औं दिन बढेर ७३९ करोड पुगेको छ । फिल्मले अहिलेसम्म भारतमा मात्रै ४५३ करोड र विदेशमा २७६ करोड कमाएको छ ।
यो कमाई यशराज फिल्म्सका लागि पनि विशेष छ, किनभने पछिल्ला केही वर्षयता यशराज ब्यानरमा बनेका धेरै फिल्म फ्लप भएका थिए । यी फिल्महरूमा रणवीर कपूरको शमशेरा, अक्षय कुमारको पृथ्वीराज र रणवीर सिंहको जयेशभाई जोरदार पनि समावेश छन् । यसबाहेक यशराजले आफ्ना दुई चलेका फिल्मको सिक्वेल (भाग) पनि बनाएका थिए जुन बक्स अफिसमा चल्न सकेनन् ।
ती फिल्महरूमा मर्दानी–२ र बंटी बबली––२ जस्ता फिल्महरूरहेका छन् । एकातिर चार वर्षपछि शाहरुखको फिल्म पठानको सफलताको चर्चा भइरहेको छ । अर्कोतिर खान शाहरुख आफ्नो आगामी फिल्म जवानको सुटिङमा व्यस्त देखिन्छन् । सन् २०२३ मा शाहरुखका थप दुई फिल्म रिलिज हुँदैछन् । जसमा जवान र राजकुमार हिरानीको डंकी पनि समावेश छ ।