रुपन्देही । भारतका प्रख्यात सन्त मोरारी बापूले भारतीय विमानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सोमबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।

सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभयो ।

पहिलो पटक लुम्बिनीमा पाइला टेक्नुभएका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गर्नुभयो ।

वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिउनुभयो । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तय बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिनुभयो । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाटय प्रमाण भएको बताउनुभयो ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेख्नुभएको छ । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको वापूले उल्लेख गर्नुभयो ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आउनुभएको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छाअनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् । रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुनेछ । वापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएको छ ।

सम्बन्धित खबरहरु