काठमाडौं । पशुपति आर्यघाटमा एक दुर्लभ घटना देखा परेको छ । अन्त्येष्टिका लागि लगिएको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
जानकारी अनुसार शिशुलाई तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो ।
बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठायो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी गराउनुभयो ।
रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन
रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका जारी गरेबमोजिम होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएको बताउनुभयो ।
कार्यालयबाट खटिएका निरीक्षकको अनुगमनपछि परिणामका आधारमा होटल तथा रेष्टुरेण्टमा पुगेर स्टिकर टाँसिएको उहाँले बताउनुभयो । अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा स्तर निर्धारण गरिएकाले सोही स्टिकरका आधारमा उपभोक्ताले होटल तथा रेष्टुरेण्टको गुणस्तर थाहा पाउने प्रमुख दाहालको भनाइ छ ।
जिल्लामा हालसम्म २५ होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएकामा एउटा होटलमात्रै अतिउत्तम निर्धारण गरिएको छ । सय पूर्णाङ्कमा मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा तीनवटा तारा भएको (क वर्ग)को हरियो स्टिकर टाँसिएको छ । (अतिउत्तम), ८० देखि ८९ सम्म अङ्क प्राप्त गर्नेलाई दुईवटा तारा भएको (ख वर्ग)को हरियो स्टिकर (उत्तम), ६५ देखि ७९ सम्म ल्याउनेलाई एउटा तारा भएको हरियो स्टिकर तथा ६५ भन्दामुनि र ५० भन्दामाथि अङ्क प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा पहँेलो स्टिकर टाँसिएको छ ।
स्वच्छताका आधारमा ५० बुँदामा प्रत्येक बुँदाको २ नम्बरको हिसाबले एक सय पूर्णाङ्कको आधारमा चारवटा श्रेणीमा स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।