काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालमा उच्च तहका कुटनीतिज्ञको तारन्तार आगमन भइरहेको छ ।
पछिल्लो तीन सातामा तीन महत्वपूर्ण भ्रमण हुँदैछन् । यो संयोग नै हुनुपर्छ, नेपालमा महिला परराष्ट्रमन्त्री नियुक्त भएयताका यी तीन उच्च तहका अमेरिकी भ्रमण नेतृत्वकर्ता सबै महिला नै छन् ।
आगामी फेब्रुअरी १४ मा नेपाल आउन लाग्नुभएकी अफ्रिन अख्तर अमेरिकाकी डेपुटी असिस्टेन्ट सेक्रेटरी अफ स्टेट हुनुहुन्छ । उहाँ दुई दिने भ्रमणका लागि काठमाडौंमा आउँदै हुनुहुन्छ ।
उच्च तहको स्रोतका अनुसार उहाँले कूटनीति र सार्वजनिक क्षेत्र तथा विकास सहायता परियोजनाकै प्रगतिमा चासो राख्ने बुझिएको छ ।
यतिबेला अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर नेपालको दुई दिने भ्रमणमा हुनुहुन्छ । युसएआईडीको वक्तव्य अनुसार उहाँले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिँदै सम्बन्ध सुधारको सन्देश दिने बुझिएको छ ।
सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारीमात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुनुहुन्छ । त्यस अर्थमा यो आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।
युएसएआईडीका अनुसार उहाँले राजनीतिक दलका उच्च नेता, नागरिक समुदाय लगायतसँग भेटिरहनुभएको छ । कूटनीतिक स्रोतका अनुसार यो नियमित किसिमको भ्रमण हो ।
तर पछिल्ला वर्षमा एमसीसी, इन्डो प्यासिफिक स्ट्र्याटेजी लगायतका मुद्दाले नेपालका नागरिकहरुमा विभिन्न किसिमका तरंगहरु उत्पन्न गरेका छन् । चीनले बीआरआई अघि बढाएसँगै यहाँ भूराजनीतिक टक्कर हुन सक्ने आँकलन चलिरहेका बेला सामन्थाको भ्रमण भएको हो ।
युएसएआईडीले वक्तव्यमा सामन्थाको भ्रमणलाई ७५ वर्षयताको अमेरिका–नेपालका सरकार तथा जनताबीचको सम्बन्धलाई अझै बढाउनका लागि गरिन लागेको प्रयास भनी अर्थ्याएको छ । ‘उहाँले नेपाल र यहाँ गठन भएको नयाँ सरकारसँगको सम्बन्धलाई हार्दिक बनाउँदै अमेरिकी सहयोग प्रतिबद्धताबारे जोड दिनुहुनेछ ।’
सामन्था आउने तयारीका लागि भर्खरै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आएर फर्किनुभएको थियो । त्यसअघि मानवअधिकार मामिलासम्बन्धी उपमन्त्री उज्रा जियासमेत गत जेठमा आएर फर्किनुभयो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले चलिरहेका भ्रमणहरु नियमित प्रकृतिका भएको टिप्पणी गर्नुभयो । ‘आज परराष्ट्रमन्त्री विमला राई पौडेलज्युसँग सामन्थाले गर्नुहुने कुराकानी पनि नेपाल–अमेरिका सम्बन्ध विकासकै अध्याय अन्तर्गत हो,’ लम्सालले भन्नुभयो ।