काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेप ध्यान दिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सासंदलाई मुखरित गरेर महिला मुद्दालाई विशेष ध्यान दिई सहयोगको अनुकूल वातावरण सिर्जना गर्छु ।” उपाध्यक्ष पदको सानो भूमिकालाई प्रभावकारी बनाउन नयाँ शैलीबाट अगाडि बढ्ने उहाँको भनाइ छ ।

विंसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मनुभएका अर्याल हाल वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक निवासी हुनुहुन्छ । तत्कालीन नेकपाको चाँैथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लाग्नुभएका अर्याल गतवर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित हुनुभएको हो ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका अर्याल विद्यावारीधिको शोधार्थी हुनुहुन्छ । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गर्नुभएको छ ।

तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उहाँ विंसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खबरहरु