जनकपुरधाम, २४ माघ । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष नेकपा (माओवादी केन्द्र)का तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथग्रहण गर्नुुभएको थियो ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १(१) बाट निर्वाचित हुनुभएको थियो ।

यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथग्रहण गर्नुभएको थियो भने २० माघमा छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । योसँगै मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । (रासस)

 

सम्बन्धित खबरहरु