काठमाडौं । नेपाली कांग्रेसका वौद्धिक नेता चन्द्र भण्डारीलाई उपचारका लागि विदेश जान सुझाव दिइएको छ ।

खाना पकाउने ग्यास विष्फोट हुँदा गम्भीर घाइते भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको उपचार नेपालमा सम्भव नभएको कीर्तिपुर अस्पतालले जानकारी गराएको हो ।

जारी विज्ञप्ति अनुसार भण्डारीलाई ३० प्रतिशत जलन हुँदा आमालाई झण्डै ७० प्रतिशत भएको छ । कीर्तिपुर अस्पतालको आकस्मिक विभागमा राति १०:३० बजे भण्डारी पुग्नु भएको थियो ।

आमा हरिकलालाई सिभिल अस्पताल हुँदै करिब एक घण्टापछि कीर्तिपुर अस्पताललाई पुर्याइएको हो । प्राथमिक उपचारपछि अहिले सघन उपचार कक्षमा दुवैको उपचार हुँदैछ ।

सांसद भण्डारीको अनुहार दुवै हात र गोडाहरुमा गरी २५ देखि ३० प्रतिशत र आमाको जिउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको अस्पतालले जानकारी गरायो ।

दुवैजनाको श्वासनलीमा पनि तातो हावा धुँवाको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिएको पनि अस्पतालले जानकारी दिएको छ । उहाँहरुलाई थप उपचारका लागि भारत पठाउने तयारी हुँदैछ । यतिबेला विभिन्न दलका नेताहरु उहाँहरुको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगिरहनु भएको छ ।

 

सम्बन्धित खबरहरु