काठमाडौं । ‘कृपया यो कलाकृतिलाई नछुनुहोस् ।’ प्राय: जब तपाईं कुनै पनि ग्यालरी वा प्रदर्शनीमा जानुभयो तब तपाईंले यो कुरा कलाकृति नजिकै लेखिएको देख्नु भएको हुनुपर्छ । सो कुरालाई कतिसम्म गम्भीर भएर स्वीकार गर्नुपर्छ भन्ने कुराको उदाहरण हालै देखिएको छ ।
मियामीमा एक कला कलेक्टरले गल्तिवश एउटा कलाकृति तोड्न पुगेका छन् । त्यो कलाकृतिको मूल्य ४२ हजार डलर अर्थात करिब ५६ लाख रुपैयाँ थियो । उक्त खबरले धेरै कला प्रेमीहरूलाई स्तब्ध बनाएको छ । उनीहरूको मनमा भविष्यका बारेमा डर पनि पैदा हुन थालेको छ ।
तोडिएको कलाकृति अमेरिकी पप कलाकार जेफ कोन्सले बनाएका थिए । घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार महिलाले आफ्नो औंलाले कलाकृति छोएकी थिइन् । सो कलाकृति वास्तवमा एक मूर्ति थियो, जसको आकार कुकुरजस्तो देखिन्थ्यो । ग्यालरीमा भिआइपी व्यक्तिहरू मात्र प्रवेश गर्दा यो घटना भएको हो ।
जब कलाकृति टुट्यो, कतिपयले यो पनि कलासँग सम्बन्धित प्रदर्शनको एक हिस्सा हो भन्ने महसुस गरेका थिए । विगतमा केही यस्ता घटना पनि भएका छन् । यस सम्पूर्ण घटनामा राम्रो कुरा के थियो भने यो कलाकृतिको बीमा गरिएको थियो । जसकारण कलाकृति हराए पनि आर्थिक नोक्सानी भने नहुने देखिन्छ ।