काठमाडौं । माया प्रेम अन्धो हुन्छ भन्ने कुरा धेरैले सुन्नु भएको होला । यसमा जात, धर्म र उमेरजस्ता कुनै पनि कुराले अर्थ राख्दैन् ।

यस्तै एक घटना बाहिर आएको छ, जहाँ शिक्षक र विद्यार्थीको विवाह भएको छ । जब प्रेम हुन्छ, तब मानिस उमेर र जन्मको बन्धनबाट मुक्त हुन्छ । बिहारको समस्तीपुरको एउटा प्रेमकथा चर्चामा छ ।

जिल्लाका एक शिक्षकले आफ्नै विद्यार्थीसँग बिहे गरेका छन् । रोचक कुरा के भने दुबैको उमेरमा तीन दशकको अन्तर छ । न्यूज १८ हिन्दीको खबर अनुसार समस्तीपुरको रोस्दा उपविभागबाट यस्तो रोचक प्रेमकथा सार्वजनिक भएको हो ।

रोस्दा चौकी क्षेत्रमा कोचिङ कक्षा चलाउँदै आएका ५० वर्षीय शिक्षक संगीत कुमारले आफूभन्दा ३० वर्ष कान्छी छात्रा श्वेतासँग प्रेममा परेर मन्दिर लगेर विवाह गरेका हुन् । संगीत कुमार अंग्रेजीका शिक्षक हुन् । श्वेता संगीत कुमारको कोचिङमा पढ्न जान्थिन् ।

पढ्दादेखि नै दुवैले एकअर्कालाई मन पराउँथे । श्वेताको घर संगीत कुमारको घरबाट मात्र ८०० मिटर टाढा पर्दछ । संगीत कुमारको पहिले विवाह भएको थियो । तर उनकी श्रीमतीको केही वर्षअघि मात्रै निधन भयो ।

दैनिक भास्करका अनुसार दुवैले मन्दिरमा हिन्दू रितिरिवाज अनुसार विवाह गरेका छन् । त्यसपछि कानुनी मान्यता दिन अदालती विवाह पनि गरियो । यो विवाहको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदैछन् । केही वर्षअघि बिहारका एक शिक्षक र विद्यार्थीको प्रेमकथा चर्चित भएको थियो ।

सन् २००६ को कुरा थियो । सञ्चारमाध्यममा बारम्बार समाचार आएको थियो । बिहारको पटना विश्वविद्यालयका प्राध्यापक मटुकनाथ चौधरी आफ्नी छात्रा जुलीको प्रेममा परेका थिए ।

मटुकनाथ चौधरी विवाहित मात्रै नभएर छोराछोरीका बाबु पनि थिए । तर जुलीसँग विवाह गर्नका लागि उनले आफ्नो जागिर र परिवार दुवै गुमाउनुपर्‍यो । पत्रपत्रिकादेखि टिभी च्यानलमा दुवैका तस्बिर आउन थाले । मटुकनाथ चौधरी र जुलीको प्रेमकथा यति चर्चित थियो कि मानिसहरूले मटुकनाथलाई लभ गुरु भनेर बोलाउँथे ।

 

सम्बन्धित खबरहरु