सिन्धुली । कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जितेर देखाउने ठोकुवा गर्नुभयो ।
सिन्धुलीमाडीमा कांग्रेस प्रदेश २ (१) ले सोमबार आयोजना गरेको सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नेमा आफू नरहेको बताउनुभयो ।
राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन । चुनावमा गएर लिने र जितेर देखाउने हो, उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ । यसमा म ढुक्क छु । नेपाली कांग्रेसले पाउने हैन, लिने हो ।’
नेता कोइरालाले गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले कांग्रेस कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । हामीमा केही कुरा चित्त नबुझे खुलस्त भन्छौं ।
हामीमा समस्या छैन । हामी मिलेकै छौं । तर तल्लो निकायमा यो यसको मान्छे, यो त्यसको मान्छे । यस्तो पनि कहिँ हुन्छ ? के म कांग्रेस होइन् ? उहाँले भन्नुभयो ।
यस्तै खुलस्त कुरा पार्टीभित्र राख्न छाडेर फरक दलहरुसँग सहकार्य गर्दै हिँड्नु घातक हुने नेता कोइरालाको टिप्पणी थियो । कोही एमालेसँग नजिक हुने, कोही माओवादीसँग, मधेसमा गयो उतैको दलसँग तर आफ्नै साथीसँग पानी बाराबारको अवस्था हुने । यसले कांग्रेसलाई घाटा पुर्याउँछ, उहाँले भन्नुभयो, पार्टीमा नेताले गल्ती गर्दा समेत मौन बस्नु थप घातक हुने कोइरालाको भनाइ छ ।
कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले आगामी पुस्तालाई स्वाभिमानी नेपाली भएर बाँच्नसक्ने बनाउन राजनीतिबाट हरेक नागरिकले अपेक्षा राखेको बताउनुभयो । अर्थसास्त्री डा. स्वर्णिम वाग्लेले लोकतन्त्रको सुद्धिकरण नै नयाँ कांग्रेस र नयाँ नेपालको प्रस्थानविन्दु रहेको बताउनुभयो ।