म दलित कि तिमी ?
हो म सानो छु
किनकी मेरो कद सानो छ
उमेर सानो छ
सायद सोच पनि सानै होला
तिमी त ठूलो हौ नि
म सानो मान्छेले जती त बुझ
किन विभेद गर्छौ जातीयताको ?
किन विभाजन गर्छौ मानवतालाई ?
किन खिल्ली उडाउछौ गरिबीको ?
अत मैले सबै बुझेँ
भोको हुनु पनि सानो हुनु रहेछ
नाङ्गो हुनु पनि सानो हुनु रहेछ
रोगी हुनु पनि सानो हुनु रहेछ
तर बुझिन के हो दलित ?


रोग , भोक र सोकको पराकाष्ठा मैँ हुँ !
म सानो हुनुको सबै प्रमाण मैसँग छन् महोदय!
यदि म दलित हुनुको प्रमाण तिमीसँग छ भने देऊ
तब स्विकार्ने छु कि म दलित हुँ !
गरिबी र पुँजीबादबिचको खाडललाई नै
यदि दलित भन्छौ भने हुँ म दलित
तिम्रो मन्दिरमा चढाउने घण्टीलाई पिट्दै गर्दा
कयौंपटक संगै पिटेकी छु आफ्नो पुन्पुरो
जलाएको छु खुशीहरु आरनमा
र पाइन हालेको छु आफ्नो स्वाभिमानमा
खलातीमा भरिएका हावा जस्तै हुन्
तिम्रो घमण्ड र आडम्बर पनि !
तिम्रा हरेक पाइलामा साथ दिन सक्छु
र हरेक पाइलामा लडाउन पनि सक्छु
किनकी
जुत्ता सिलाउने कला तिमीसँग छैन
तिमीसँग त छ निमुखाहरुलाई कुल्चिने स्वभाव
तिम्रो लाज म मेरो औलाहरुले छोपिदिन सक्छु
किनकी
सियो चलाउने औंला यिनै हुन्
च्यातिदिन सक्छु जातियताको खोल
किनकी
कैँची चलाउने औंला पनि यिनै हुन्
म मेहनतले खान्छु र भोकलाई बाँड्छु
तिमी लुटेर खान्छौ र लुट्नेहरुसँग माग्छौ
म मानिस एक भएर खान्छु
तर तिमी मानिसले छोएको खादैनौ
अब भन दलित म कि तिमी ??
रश्मि रोदन

सम्बन्धित खबरहरु