काठमाडौं । क्याम्बोडियास्थित एङ्कोरका प्राचीन शासकका राजकीय अलङ्कार र आभूषणहरू गत ग्रीष्मयाममा लन्डनमा पुनः देखा परेका थिए भन्ने खुलासा गरिएको छ। तीमध्ये केही सातौँ शताब्दीका छन्।

ती सामग्रीहरू एङ्कोरबाट चोरी भएर विदेशिएका थिए। ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने ब्रिटेनका डग्लस ल्याच्फर्डको स्वामित्वमा थिए।

तीमध्ये अधिकांश राजकीय आभूषणहरू पहिला कहिल्यै पनि आफूले नदेखेको र ती अहिले पनि अस्तित्वमा रहेको थाहा पाउँदा आफूहरू छक्क परेको विज्ञहरूले बताएका छन्।

उक्त आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा क्याम्बोडियाको राजधानी फिर्ता पठाइएको छ। अब ती पुरातात्त्विक वस्तुहरू त्यहाँको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ।

संयुक्त राज्य अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा मृत्यु भएको थियो। उनको मृत्युपछि उनको परिवारले क्याम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो। तर फिर्ता हुन लागेको सङ्ग्रहमा के छ भन्ने क्याम्बोडियाली अधिकारीहरूलाई थाहा थिएन।

“ल्याच्फर्ड परिवारका एक प्रतिनिधिले मलाई गाडीमा राखेर एउटा अज्ञात स्थानमा लगे। त्यहाँको पार्किङस्थलमा चारवटा बाकस राखिएको एउटा गाडी थियो,” क्याम्बोडियाको अनुसन्धान टोलीका प्रमुख ब्र्याड गोर्डनले भने।

गत वर्ष लन्डनको भ्रमण गर्दा उनले पहिलो पटक ती प्राचीन आभूषणहरू देखेका थिए। “मलाई रुन मन लाग्यो। मलाई लाग्यो – आबुइ, प्राचीन क्याम्बोडियाली सभ्यताका राजकीय आभूषणहरू एउटा कारमा चारवटा बाकसमा छन्।” बीबीसी

सम्बन्धित खबरहरु