बुटवल । लुम्बिनी विकास कोषले भगवान गौतम बुद्ध जन्मिएको मायादेवी मन्दिरमा नयाँ गजुर राखेको छ ।

पुरानो गजुर जीर्ण भएपछि कोषले स्वयम्भू स्तुपा आकारको नयाँ गजुर राखेको हो ।

गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोङले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

मंगलबार दाता मालिनोङ बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर राखिएको हो । यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताउनुभयो । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आकर्षक देखिएको छ ।

स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताउनुभयो । गजुरको बाहिर पट्टीको भागमा सुनको जलप लगाइएको छ । यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो ।

‘बाँदरले हल्लाउंदा ढल्कने र खिइएकाले गजुर मर्मत गर्नुपर्ने भएको थियो, त्यही क्रममा थाइल्याण्डका बुद्धमार्गीले नयां गजुर राखिदिनुभयो’, शाक्यले भन्नुभयो, ‘गजुरसँगै बुद्ध जन्म स्मारक (मार्क स्टोन) स्थापनाका लागि समेत सहयोग भएको छ ।’

मालिनोङ र लर्टट्रथले भारतको कुशिनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधी बृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताउनुभयो । उहाँका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गर्नुभएको हो ।

सम्बन्धित खबरहरु