काठमाडौं । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलको समर्थक बस्दा पनि राष्ट्रपति निर्वाचनमा माओवादीको साथ पाउने आशा एमाले नेताहरूलाई छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्विचार गर्नुहुन्छ भन्ने विश्वास एमालेलाई लागेको छ ।

सोहीकारण एमाले सरकार छोड्ने पक्षमा छैन् । प्रचण्ड हतार गरेर गएको एमालेसँग छलफल नै नटुङ्गिएको उहाँले बताउनुभयो । शाक्य भन्नुहुन्छ, ‘हामीसँग भएको सहमति जीवित राख्ने मौका उहाँहरूसँग फागुन २५ सम्म छ, त्यसैले हामी राष्ट्रपति निर्वाचनसम्म पर्खन्छौँ ।’ त्यसपछि पनि प्रचण्ड परिवर्तन भएनन् भने एमाले सरकार छोडेर जानेछ ।

माओवादी र एमालेले अझैसम्म सत्ता गठबन्धन तोडिएको घोषणा गरेका छैनन् । तर माओवादी र जनमत पार्टी सहित सरकारमा रहेका दलहरूले समेत पौडेललाई समर्थन गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा आठ जना मन्त्री रहेको एमाले सरकारबाट बाहिरिँदा यसअघि नै सरकारलाई विश्वासको मत दिएको कांग्रेसको सत्तारोहण सहज हुने धेरैको बुझाई रहेको छ ।

तर एमाले नेताहरू कांग्रेसलाई रोक्नका लागि मात्रै आफ्नो दल सरकारमा नरहेको दाबी गरिरहेका छन् । एमाले नेता विष्णु रिजाल भन्नुहुन्छ, ‘हामीसँग भएको पुस १० को समझदारी आधिकारिक हो की कांग्रेससँग भएको आधिकारिक हो भन्ने जवाफ हामीले प्रचण्डसँग खोजिरहेका छौँ त्यसको उत्तर पर्खेर हामी सरकारबाट बाहिरिन हतार नगरेको हो ।’

एमालेको अनुमान भन्दा छिटो माओवादी–कांग्रेस समीकरण बनेका कारण त्यो समीकरण पनि छिट्टै टुट्ने आशङ्का एमालेका कतिपय नेताहरूले गरेका छन् । यसअघि कांग्रेसले प्रतिपक्षमा रहने तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि एमाले अध्यक्ष केपी ओलीले माछा मार्न प्रयोग गरिने ढोक्सा थापेको आरोप लगाउनु भएको थियो । अहिले पनि सरकारमा बसिरहेर ढोक्सा थापेको आरोप कतिपयले एमालेमाथि लगाएका छन् ।

सम्बन्धित खबरहरु