काठमाडौं । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन् ।

कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरेपछि राम्रो आम्दानीको स्रोत बनेको छ ।

दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लाग्नुभएको छ । दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका उहाँको परिवारका छ जना व्यवसायमा खटिनुहुन्छ । गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेको उहाँहरूले जानकारी दिनुभयो ।

उहाँको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै आएको छ । उहाँको फार्मबाट हाल प्रतिकिलो रु ७० देखि ७५ मा गोलभेँडा बिक्री हुन्छ। मूल्य घटबढ भए पनि गोलभेँडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताउनुभयो ।

व्यवसायको सुरुआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिक रुपमा एकदेखि दुई लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताउनुभयो ।

“हप्तामा तीनदेखि चार पटक गोलभेँडा गाडीमा बुटवल पठाउँछौँ, एक पटकमा एक लाख बराबरको जाने गर्दछ”,” उहाँ भन्नुहुन्छ, “खेतीमा परिवारका सबै सदस्य खट्छौँ, खर्च कटाएर पनि मासिक रु एक÷दुई लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।” लगातार मेहनत गर्नेहरु व्यावसायिकरुपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्राङ्गारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा रु चार लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । उहाँले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताउनुभयो ।

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो ।

साथै दाजु कमल २०७९ को संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषितसमेत हुनुभएको थियो ।

सम्बन्धित खबरहरु