दोलखा । दोलखाको तल्लो क्षेत्रमा आइबार वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लामा ६ महिनापछि हावाहुरीसहित हिउँदे वर्षा भएको हो । यस्तै माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

वर्षाले गहुँबालीमा सिँचाइ पुग्ने भन्दै किसान खुशी भएका छन् । गहुँबाली खडेरीले डढ्न थालेको थियो । माथिल्लो क्षेत्रमा किसानले आलु उमार्न पाएका थिएनन् । वर्षाले आलु बालीलाई पनि राहत हुने भएको छ ।

ढिलै गरी भए पनि वर्षा हुँदा बाली चक्रमा अनुकूल प्रभाव पर्ने बैत्यश्वर–७ मार्बुका चेतबहादुर श्रेष्ठले बताउनुभयो । ‘खडेरीले गहुँ डढ्न थालेको थियो, कतिमा सिन्दुरे रोग देखिएको छ,’ उहाँले भन्नुभयो, ‘पानी पर्‍यो, केही हदसम्म बाली जोगिने आश लागेको छ ।’

मकै छर्न बारी खन्ने क्रम सुरु भएकाले वर्षाले माटो खुकुलो र डल्ला फुटाउन पनि सहज हुने उहाँले बताउनुभयो ।

सुक्खाले आलु नउम्रेका बेला हिमपातले केही राहत भएको भीमेश्वर–९ खरिढुंगाका जीतबहादुर श्रेष्ठले बताउनुभयो । ‘सुक्खा लागेर आलुको मुना पलाउनै सकेको थिएन । खडेरीले आलु नफल्ला भन्ने भइसकेको थियो,’ उहाँले भन्नुभयो, ‘हिउँ परेर ठूलो भएको छ ।’

हिमपातले सिँचाइ पुग्दा आलुका मुना पलाउन माटो खुकुलो बनाएर सघाउने उहाँले बताउनुभयो । शैलुङ कालिञ्चोकलगायतका उच्च भेगमा हिमपात भएको छ । हिमपातसँगै यी क्षेत्रका होटल व्यवासायीसमेत उत्साहित छन् । हिँउ खेल्न जानेहरुको आजैदेखि लर्को लाग्न थालेको छ ।

सम्बन्धित खबरहरु