काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन (बालेन्द्र) साहको राजीनामा माग्दै सडक तात्न थालेको छ ।
सोमबार अपरान्ह ४ बजे व्यवसायीहरुको एउटा समूह दरबारमार्गको मुल सडकमा कालो ब्यानर लिएर अन्दोलनमा उत्रिदै साहको राजीनामा माग गरेका हुन् ।
करिब तीन सयको संख्यामा रहेका व्यवसायीहरुको भीडमा मेयर बालनको राजीनामाको चर्को नारा सुनियो । आन्दोलनको भीडमा नाम चलेका व्यवसायीहरु उत्तेजित हुँदै भन्थे, ‘बालेन साह पार्किङ देऊ, पार्किङ नदिए राजिनामा देऊ ।’
अधिकारीकाअनुसार महानगरले पार्किङ हटाएपछि पसलको व्यापार चौपट भएको छ । दरबारमार्ग क्षेत्रमा पार्किङ छैन भन्दै ग्राहक नै नआएको व्यवसायीको गुनासो छ । पार्किङ अभावमा व्यवसायीको व्यवसाय ६० प्रतिशतले घटेको उनीहरु बताउँछन् ।
सामान्यतय साँझ पर्नै लाग्दा दरबारमार्ग क्षेत्रमा चहलपहल बाक्लिन्छ । तर, सोमबार अपरान्ह व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर महानगरविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनमा भेटिएकाहरुको एउटै स्वर थियो ‘महानगर पार्किङ देऊ ।’
किनमेल र घुमफिरका लागि प्रख्यात रहेको दरबारमार्ग अहिले साँझ ६ बजेपछि नै सुनसान हुने गरेको छ । महानगरको पार्किङ व्यवस्थित गर्ने कार्य सही भएपनि विकल्पविहीन निर्णयको विरोध गरिएको व्यवसायीहरुले बताए ।
गत १९ पुसमा ट्राफिक प्रहरीको आग्रहमा महानगर प्रहरीले दरबार मार्ग क्षेत्रको बायाँतर्फको सडकको एकतर्फी पार्किङ हटाएको थियो । पार्किङ हटेका कारण त्यस क्षेत्रमा रहेका करिब ३ सय वटा पसल कबुलमा ग्राहक नआएको व्यवसायीहरुको आरोप छ ।
दरबारमार्ग क्षेत्रमा निकै कम मात्रामा बेसमेन्ट पार्किङ रहेको भन्दै व्यवसायीहरुले ग्राहकका लागि त्यसबाट नपुग्ने बताए । दरबारमार्ग विकास बोर्डकाअनुसार अहिले हटाइको क्षेत्रमा करिब ३ हजार मोटरसाइकल र एक सय हाराहारी गाडी पार्किङ गर्न मिल्ने अवस्था थियो ।
पार्किङको समस्या घरबेटीको होकी महानगरको भन्ने जिज्ञासामा व्यवसायीहरु, ‘व्यवसायी र कर्मचारीको पार्किङ घरबेटीको हो । तर ग्राहकको पार्किङ व्यवस्था राज्यले गर्नुपर्छ । विना विकल्प हटउन पाइन्न भन्छन् ।’