धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–५ मा बुबाले आमाको हत्या गरेपछि टुहुरा बनेका बालबालिकाको स्याहारका लागि एसओएस बालग्राम धनगढीले सहयोग गरेको छ ।

एसओएस बालग्रामका निर्देशक पदमबहादुर हमालले ललिता नाम्जालीका दुई जना छोराछोरीलाई पालनपोसनका लागि सहयोग गरिरहेको बताउनुभयो ।

बालबालिकाहरू अहिले आफ्नी ठूली आमा तुलसीदेवी नाम्जालीसँग बसेका छन् । तुलसीदेवीकै नाममा बैंक खाता खोलेर मासिक ४५ सय रुपैयाँका दरले दुई जनाका लागि ९ हजार प्रदान गरिने निर्देशक हमालले बताउनुभयो ।

संरक्षकले बालबालिकाहरु गाउँमै सरकारी विद्यालयमा अध्ययन गरिरहेका कारण उक्त रकमले स्याहारसुसार गर्न सकिने बताएपछि तत्काल ४५ सय रुपैयाँ सहयोग गर्ने गरी सम्झौता गरिएको हमालले बताउनुभयो ।

बालबालिकालाई उक्त रकम अपुग भएको अवस्थामा थप्न पनि सकिने एसोएस बालग्रामले जनाएको छ ।

गत असोजमा शेरबहादुर नाम्जाली मगरले घरायसी विवादमा ३४ वर्षीया श्रीमती ललिता नाम्जाली मगरेको हत्या गरेका थिए भने छोरीलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए ।

घटना भएको भोलिपल्ट पक्राउ परेका नाम्जाली मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् । अहिले उनका छोराछोरीलाई दाजु वीरबहादुर नाम्जाली मगरले पालनपोषण गरिरहनुभएको छ ।

सम्बन्धित खबरहरु