काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रदेश नामकरण गरेको भन्दै मुख्यमन्त्री हिक्मत कार्कीलाई बधाई दिनु भएको छ । खोटाङबाट प्रतिनिधिसभा सदस्य समेत रहनु भएका एमाले पोलिट्ब्युरो सदस्य भट्टराईले प्रदेश १ लाई कोशी नामकरण गरेपछि कार्कीको तारिफ गर्नुभएको हो ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उहाँले मुख्यमन्त्री कार्कीलाई बधाई दिनुभयो । उहाँले लेख्नु भएको छ, ‘तपाईंले चुनाव दोहोर्याएर जित्नुभो, सर्वसम्मत दलको नेता र मुख्यमन्त्री बन्नुभो, लाखौं तिर्नुपर्ने भाडाको निवास छाडेर तिर्नु नपर्ने सरकारी भवनमा बस्नुभो, मन्त्रालयको संख्या घटाएर सानो मन्त्रीमण्डल बनाउनुभो, अहिले चारतिर फर्केका पार्टीहरुलाइ मिलाएर पाँच वर्षदेखि थाती रहेको बेनामे प्रदेशको नामकरण गर्नुभो ।’

उहाँले अगाडि थप्दै भन्नु भएको छ, ‘जिम्मेवारी बाहिर रहँदा जत्ति नै कर्णप्रीय कुरा गरेर के गर्नु र ! पदमा रहँदा काम गर्न सकिएन भने !!’ लामो रस्साकस्सीपछि प्रदेश १ को नाम कोशी राखिएको हो । प्रदेशसभामा बुधवार राती भएको मतदानमा कोशी को पक्षमा दुई तिहाइ बढी बहुमत जुटेको थियो । नेकपा एमालेले प्रस्ताव गरेको नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा सहित प्रमुख दलहरू उभिएका हुन् ।

सम्बन्धित खबरहरु