काठमाडौं । नेपालमा वन्यजन्तु संरक्षणका निम्ति राज्यले सकारात्मक पहल थाले पनि ती सुखद र पर्याप्त नभएको जानकारहरू बताउँछन् । विशेषगरी वन्यजन्तु अपराधको सन्दर्भमा कानुनहरू कार्यान्वयन नहुनु र साना स्तनधारी वन्यजन्तुको आवश्यकताबारे उचित विमर्श र जानकारी नहुनुले विभिन्न चुनौतीहरू खडा भएको बताइन्छ ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घले ५० औँ विश्व वन्य जीवन दिवस मनाइयो । बीबीसीले वनका वैभवमा महत्त्वपूर्ण मानिने, नेपालका केही दुर्लभ वन्यजन्तुबारे चर्चा गरेको छ । नेपालमा पाइने केही दुर्लभ वन्यजन्तु

सालक
सालक मकवानपुर, धादिङ, सिन्धुली, सुर्खेत, इलाम, ताप्लेजुङलगायत ठाउँमा पाइन्छ । सालक लजालु र प्रतिकार गर्न नसक्ने जन्तुमा पर्छन् ।

लघु कर्ण खरायो
घाँसे मैदानकै अभावका कारण लघु कर्ण खरायो दुर्लभ बन्दै गएको छ । अन्य खरायोको तुलनामा यसको कान निकै सानो हुने भएकाले यसलाई लघु कर्ण खरायो भनिन्छ । यो खरायो आजभोलि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका केही भागहरूमा पाइन्छ ।

जङ्गली याक
नेपालमा धेरै वर्षसम्म नदेखिएको भए पनि छ भन्ने पुष्टि भएको दुर्लभ जनावर हो जङ्गली याक वा वन चौँरी हो । यो हुम्लाको लिमी उपत्यकाबाट उत्तरतर्फ केही पटक देखिएको बताइन्छ । यो जनावर नेपाल, भारत र चीनका सुक्खा हिमाली क्षेत्रमा पाइन्छ ।

मुसे मृग
नेपालमा पहिले पाइने तर हाल अति लोपोन्मुख जनावर मुसे मृग हो । अनुसन्धानकर्ताहरूका अनुसार अहिले यो नेपालमा पाइन्छ या पाइँदैन भन्ने पक्का छैन । अनुहारको भाग मृगको जस्तो देखिने भएकाले इन्डियन सेभ्रोटिन नामक यस प्रजातिलाई मुसे मृग नाम दिइएको हो । जङ्गल वरपरका स्थानीय बासिन्दाहरूको भनाई र केही अध्ययनको आधारमा यसको उपस्थिति ठम्याइएको बताइन्छ ।

लाटोकोसेरो र चराहरू
ठूला जनावरको सङ्ख्या घट्नु, सिकार र अवैध व्यापारबारे छलफल र चर्चा भए पनि चराहरूको सन्दर्भमा यस्ता बहस पर्याप्त नभएको विज्ञहरु बताउँछन् । सहरी क्षेत्रमा चरा पाल्ने सोखले अवैध व्यापार बढाएको उनीहरुको दाबी छ । गत कार्तिक महिनामा मात्रै काठमाडौंका फरक फरक क्षेत्रबाट ६०० भन्दा बढी चराहरू जफत गरिएको थियो ।

अर्ना
नेपालको कोशी टप्पुको एउटा मात्र क्षेत्रमा पाइने अर्नासमेत लोप हुने अवस्थामा रहेको बताइन्छ । यो प्रजाति त्यस क्षेत्रमा नहुने हो भने देशभर कहीँ पनि नरहने जनाइएको छ । त्यस क्षेत्रमा हजारौँ घरेलु गाई तथा भैँसीहरू पस्ने गरेका छन् । त्यसैले अर्नाको वंशाणुगत क्षयीकरण भइरहेको छ ।

सम्बन्धित खबरहरु