काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भएको बताउनु भएको छ । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको पनि स्पष्ट पार्नुभयो ।

शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद् केन्द्रीय समिति बैठकमा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । जनतालाई भ्रममा पार्न सफल शक्तिले अहिले पनि सत्ता कब्जा गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्त्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरूलाई अनुरोध गर्नुभयो । लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीवीले जनतालाई भ्रममुक्त बनाउनु पर्ने उहाँले तर्क गर्नुभयो ।

सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना स्वार्थमा अल्झिएको उहाँको आरोप छ । गलतलाई गलत देख्न सक्ने बनाउने, सहीलाई सही देख्न सक्ने बनाउनुपर्ने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

सम्बन्धित खबरहरु