काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गर्नुभएको छ । पाइलट भावना पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भर्नुभएको हो ।
आइतबार काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताउनुभयो ।
पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेशबुकमा लेख्नुभएको छ, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण। नेपाल वायुसेवा निगममा पहिलो पटक राष्ट्रिय ध्वजावाहक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ।’
पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध हुनुहुन्छ । आइतबार बिहान १२ः०४ को समयमा एयरबस ३२० बाट काठमाडौं–युएई उडान गर्नुभएको हो । उक्त जहाजमा १५३ यात्रु सवार थिए।
यो टोली आगामी बुधबारको उडानमा यात्रु लिएर काठमाडौं फर्कने निगमले जनाएको छ। निगमका अनुसार बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पुर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ ।